पथरी : समुदायको सहयोगमा सुरक्षा अवस्थालाई व्यवस्थित गर्न प्रदेश सरकारले अघि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिकामा ‘समुदाय–प्रहरी पालिका समिति’ गठन भएको छ । जस अन्तर्गत, जिल्ला प्रहरी कार्यालयले १७ वटा स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रम गरिसकेपछि पालिकास्तरको समिति निर्माणको काम अघि बढेको हो । पथरी शनिश्चरेमा नगर प्रमुख दिलिपकुमार राई संयोजक, उपप्रमुख यमुना विष्ट वास्तोला सहसंयोजक, इलाका प्रहरी कार्यालय पथरी प्रमुख कमल बजगाईं सहसंयोजक, प्रहरी इकाई प्रमुख तोर्णबहादुर वस्नेत सदस्य सचिव रहनेगरी २१ सदस्यीय समिति गठन भएको छ ।

सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत तथा अन्य संघसंस्था, महिला समुदाय तथा नागरिक समाजका अगुवाहरु रहनु भएको छ । जसमा, वीरवहादुर वस्नेत, नराहाङ राई, गीता कट्टेल, धनमाया गुरुङ, सरस्वती चौधरी, आइतकुमारी तुम्वापो, जयबहादुर राई, कृष्णबहादुर कार्की, भूपेन्द्र तिम्सिना, मोहन तुम्वापो, टंक भण्डारी, टेकबहादुर थापा बौद्धबहादुर कार्की सदस्यका रुपमा चयन हुनुभएको छ । त्यसैगरी कानेपोखरीमा पनि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको संयोजकत्वमा समिति गठन भएको इलाका प्रहरी प्रमुख कमल बजगाईंले जनाकारी दिनुभयोे । प्रहरीलाई सहयोग हुने हिसावले समुदायले सुरक्षाको अपनत्व प्रदान गर्ने साझेदारीका योजना एवम् कार्यक्रमहरु तय गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न समिति निर्माण भएको बजगाईंले उल्लेख गर्नुभयो । यसरीनै समितिहरु वडा र टोलतहसम्म गठन गरिने योजना रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।