धरान : स्वीट्जरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई कलेजोको उपचारमा अत्यावश्यक फाइब्रो स्क्यान मेशिन सहयोग गरेको छ । प्रतिष्ठानको ग्याष्टोइन्ट्रोलोजी एण्ड हेपाटोलोजी युनिटलाई जेनेभा युनिभसिटीले उक्त मेशिन उपकरण उपलब्ध गराएको हो ।

यो मेशिन प्राप्त भएपनि हेपाटाइटिस बि, सि र अल्कोहोलिक विरामीहरुको उपचारमा धेरै उपयोगी हुने युनिटका प्रमुख डा.बिक्रम प्रधानले जानकारी दिए । उनका अनुसार हेपाटाइटिसका विरामीहरुको संख्या बढ्दै गइरहेको छ । तर, यो मेशिनको अभावमा उनीहरुको उपचार सहजरुपमा हुन सकिरहेको थिएन । अहिलेसम्म अल्ट्रासाउण्ड गरेर देखिएको रिपोर्टको आधारमा मात्र कलेजो वा हेपाटाइटिसका विरामीहरुको उपचार भइरहेको थियो । ‘हामीलाई यो मेशिन अतिआवश्यक थियो, जेनेभाबाट सहयोग पायौ, उपचार पद्दतीमा अब बिपीले नयाँ उपलब्धी हासिल गर्छ,’डा. प्रधानले भने ।

12-2
उनका अनुसार कलेज ज्यादै कमलो अंग हो । हेपाटाइटिस बि र सिका विरामी तथा मदिराको लतमा फसेकाहरुको कलेजोसम्बन्धी रोग धेरै हुन्छ । अल्ट्रासाउण्ड गर्दा कलेजमा घाउ वा चिल्लोको मात्रा देखिन्थ्यो । त्यसले कलेजमा समस्या हुदा विस्तारै कडा बन्दै जान्छ । अब भने कलेजो कुन अवस्थामा छ भन्नेसमेत थाह पाउन सकिने प्रतिष्ठानले जनाएको छ । ‘पहिला फ्याटी लिभर छ भन्ने थाह हुन्थ्यो, अब चै फाइब्रोसिस कति कडा छ भन्ने नाप्न सकिन्छ । नरम हुनुपर्ने कलेजो कति कडा भयो भन्ने पनि थाह हुन्छ,’प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले भने,‘कलेजको उपचारमा यो महत्वपुर्ण उपलब्धी हो ।’
जेनेभाबाट प्रतिष्ठान आएका प्रोफेसर डा.एल स्फारले प्रतिष्ठानसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताउदै सर्वसाधारण विरामीहरुलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे । उपकुलपति रौनियारका अनुसार यो मेशिन प्रतिष्ठान आफैले खरीद गर्ने तयारी गरेको थियो । तर, जेनेभा युनिभर्सिटिी हस्पिटलले सहयोग गरेपछि प्रतिष्ठानको करोडौ रुपैया बचत पनि भएको उनले बताए । यो मेशिनको भारतमा नै १ लाख ४५ हजार युरो मुल्य रहेको छ ।

23
प्रतिष्ठानले धेरै सेवा विस्तार गरेको जानकारी दिदै उपकुलपति रौनियारले कलेज फुटेर रक्तस्राव हुदा रोक्न सक्ने, एसिड पिउदा खम्चेकोलाई खोल्ने सेवा पनि शुरु भइसकेको बताए । यस्तै, विगतमा कलेजोको नमुना छातीबाट झिक्ने गरेकोमा अब घाटीको नशाबाट नमुना निकाल्ने र यसले धेरै जोखिम नबनाउने पनि चिकित्सकहरुले बताएका छन् । ‘युरिया ब्रेथ टेष्ट पनि शुरु भइसकेको छ, अब ग्याष्टिक हो होइन भन्ने पनि पत्ता लाग्छ । पहिला जस्तो ग्याष्टिक हो कि भनेर पेनकिलर खानुपर्ने अवस्था छैन,’उपकुलपति डा.रौनियारले भने,‘नयाँ सेवा र विभागहरु थप्दै जादैछौं ।’