उदयपुर: केही दिनदेखि जंगल हात्तीले उदयपुर जिल्लामा आतंक मच्चाएको छ । त्रियुगाा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा जंगली हात्तीले आतंका मच्चाएको हो ।

एक सातामा जंगली हात्तीले यी दुई नगरको ७ घरलाई क्षति पुर्याएको छ । हात्तिले ती घरहरु भत्काइदिएका छन् । बुधबार राति मात्र ४ वटा जंगली हात्तीको समूहले त्रियुगा नगरपालिका ३ ठाडीमा भवानी प्रसाद चौधरी, राजन चौधरी र रामेश्वर चौधरीको घर भत्काएर क्षतिग्रस्त बनाइदिएको छ । भवानी चौधरीको घरलाई भत्काउनको साथै तीन क्विनटल धान, चामल पनि खाइदिएको पीडित परिवारले जनाएको छ ।

यस्तै, राजन चौधरीको घर र रामेश्वर चौधरीको घर भत्काई दिएको त्रियुगा नगरपालिका ३ का वडा अध्यक्ष अवधेशप्रसाद चौधरी बताए । हात्तीले के कति क्षति गरेको छ भन्ने पुर्णविवरण आउन भने बाँकी छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जंगली हात्तीको त्रासले भुल्के, ठाडी, चाँप, मोतिगडा, क्याम्पस डाँडाका बासिन्दा रातभरी जाग्राम बसेका थिए भने उनीहरुलाई हात्तीलाइ धपाएका थिए ।

यसअघि, गत शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दिपक सार्कीको घर भत्काइदिएको थियो भने घरमा भएको अन्न पनि खाएको थियो । आइतबार राति चौदण्डीगढी नगरपालिका १० हडियामा जंगली हात्तीको समूहले गाउँ पसेर किसानको अन्नबाली नष्ट गरिदिएको थियो । साथै, टिकाराम दाहाल र बिक्रम दाहालको घरको भुईतला भत्काई दिएको प्रहरीले जनकारी दिएको छ । हात्तीले घर भित्र रहेको चामल एक क्विन्टल, मकै ३० किलो र ५० किलो चोकर नष्ट गरेको थियो ।