पथरी: कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार मोरङ्गको पथरीशनिश्चरेस्थित पथरी बजारमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।

पथरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बिहिबार बिहान पन्तका दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् । क्याम्पसस्थित स्ववियुको नेतृत्वमा ¥याली निकालिएको थियो । र्याली पछि आयोजित कोणसभामा सहभागीले निर्मलाको हत्यारा पहिचान गरी परिवारलाई न्याय दिन माग गरेका थिए । बलत्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि सरकारले दोषी पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै वक्ताहरुले चर्को आलोचना गरेका थिए ।

कार्यक्रममा वोल्दै नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति होमनाथ पोखरेल, अनेरास्ववियूका विवेक न्यौपाने, अखिल क्रान्तिकारीकी एलिना दियाली लगायतले वोलेका थिए । क्याम्पसबाट प्ले कार्ड बोकेर निस्किएका बिद्यार्र्थीहरुले निर्मलाको न्यायका लागी भनेर तयार पारेको पोष्टर र स्टिकर नगरपालिकको कार्यालयमा समेत टासेका थिए । उनीहरुले पथरी वजारका विभिन्न चौकहरुमा समेत स्टीकर टासेर न्यायको माग गरेका हुन ।

र्यालीको नारामा विवाद

विद्यार्थीहरुको साझा संगठन स्वतन्त्र विद्यार्थी संगठनले आयोजना गरेको विरोध ¥याली पछिको कोणसभामा नेवि संघका विद्यार्थीले एकतर्फीरुपमा उग्र नारा लगाएको र प्लेकार्डमा लेखिएको नाराप्रति अखिलका विवेक न्यौपानेले आपत्ति जनाए । कोणसभामा वोल्दै न्यौपानेले सवै विद्यार्थी संगठनको कार्यक्रममा एउटा विद्यार्थी संगठनको जस्ता प्ले कार्ड वनाएर विद्यार्थीलाई बाड्नु आपत्तीजनक भएको भन्दै उनले विरोध जनाएका थिए । त्यस्तै नेविसंघका क्षेत्रीय सभापतिले अधिकाशं समय प्रधानमन्त्रीको आलोचना गरेका थिए ।