दाङ : दाङको बंगलाचुली गाउँपालिकामा आगलागी हुदाँ एकै घरका ३ जनाको मृत्यु भएको छ। फुसको छानो भएको घरमा आगलागी हुँदा बंगलाचुली गाउँपालिका ८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। एक बर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएको बेला ब्याट्रिपड्किएर आगलागी भएको प्रहरीले बताएको छ।
आगलागी पश्चात प्रहरी चौकी हाँसिपुर र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको जनाएको छ । साथै आगलागीबाट घरमा रहेका सातवटा गाई र चारवटा बाख्रा समेत जलेर नष्ट भएका छन्।