विराटनगर: मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा प्रहरीले एक व्यक्तिलाई रंगेहात पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पथरी शनिश्चरे १ का ३९ वर्षीय प्रकाश भनिने रत्नबहादुर धिमाललाई बिहीबार दिउसो पक्राउ परेका हुन् । अन्य केही व्यक्तिहरु भने फरार भएका थिए । धिमाललाई एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा, वारुद, विजुलीको तारबाट बनाइएको पासो, खुकुरीलगायत हतियार एवं सामाग्रीहरुसहित पक्राउ गरेको प्रहरीले इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

वन्यजन्तुको शिकार हुदै गरेको गोप्य सूचनाका आधारमा दिउसो साढे २ बजे प्रहरी टोली वन क्षेत्रमा प्रवेश गरेको थियो । प्रहरी टोली आएको सुइको पाएर अन्य ५ जना जति व्यक्तिहरु भने भाग्न सफल भएको प्रहरी निरीक्षक कमल बजगाईले बताए । धिमाल पनि भाग्न प्रयास गर्दा घेरा हालेर पक्राउ गर्न सफल भएको उनले बताए । धिमालले दिएको जानकारीको आधारमा अन्यको पनि खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीले धिमालविरुद्ध हातहतियार तथा खरखजना ऐनअन्र्तगत मुद्दा चलाउने जनाएको छ । त्यसपछि, वन ऐनअनुसार पनि उनलाई कारबाही हुने प्रहरी निरीक्षक बजगाँईले बताए । त्यसको लागि धिमाललाई वन कार्यालयमा बुझाइने उनले बताए । घटनास्थलमा भेटिएको चित्तललाई गोली हानिएको अवस्थामा भेटिएको थियो । प्रहरीले छापा मार्दा चित्तलको मासु भाग लगाउने तयारी भइरहेको थियो ।

तस्बिर: गुगल