मोरङ : प्रहरीले पक्राउ गरेपछि अदालतबाट अनुमति लिएर अनुसन्धानमा राख्छ, र केही समयपछि अदालतकै आदेशमा धरौटीमा वा साधारण तारेखमा पक्राउ परेकाहरु छुट्छन् । पेशी बहसको क्रममा अदालतको आदेशमा छुटेकाहरु आफु निर्दोष सावित भएको भन्ने भ्रममा बस्छन् । तर, यथार्थमा उसको अदालती प्रक्रिया टुंगिएको हुदैन ।

प्रहरी हिरासतबाट मुक्त भएपछि आफुमाथि लागेको अभियोगको अदालती कारवाही कहाँ पुग्यो भनेर हेक्का नगर्दा अदालतबाट ज्यादै थोरै रकम जरिवाना फैसला भएर पनि फरार सुचीमा दरिएका मोरङका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार जुवा मुद्दामा २०७० असार १९ गते जनही १ सय जरिवाना फैसला भएर पनि फरार सुचीमा रहेका बुढीगंगा गाउँपालिका ३ का ६ जनालाई पक्राउ गरेको छ । यसरी सय रुपैया मात्र जरिवाना फैसला हुदा पनि नतिरेर फरार सुचीमा रहेका रमेश खड्का, सिताराम भट्टराई, राजकुमार केसी, सिताराम खड्का, भिम बहादुर खड्का र भरत कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, ईलाका प्रहरी कार्यालय निमुवाले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पनि ९ बर्ष पछी पक्राउ गरेको छ । मोरङ बुढीगंगा गाउँपालिका २ का बिरेन्द्र थापा मगरलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी पनि अदालतको फैसला वमोजिम मात्र २ हजार जरिवाना नतिरेपछि फरार सुचीमा थिए । उनलाई पनि सवारी ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६६ साल असार ३१ गते २ हजार मात्र जरिवाना फैसला गरेको थियो । तर, उनी पनि फरार सुचीमा थिए । पक्राउ परेका सातै जना प्रतिवादीहरुलाई तोकिएको जरिवाना भुक्तानीको लागि आजै सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।