तेह्रथुम : क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती अर्थात् क्रिसमस–डे को अवसरमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले स्थानीय विदा दिएको छ ।

नगरकार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रमा लागु हुने गरी मंगलबार स्थानीय विदा दिइएको नगर प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बलराम निरौलाले सूचना जारी गर्दै स्थानीय विदाबारे जानकारी गराउनुभएको छ । क्रिसमस डेका दिन येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । सो अवसरमा जिल्लाका विभिन्न चर्चहरुमा कार्यक्रमहरु भइरहेका छन् ।