तेह्रथुम : लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणकालागि तेह्रथुममा जिल्लास्तरीय सन्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सन्जाल गठन तथा कार्य सन्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सन्जाल गठन भएको हो ।

सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सन्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव रहेको छ ।

यस्तै सन्जालमा लैङ्गिक हिसाको क्षेत्रमा कार्यरत संघसंस्था, नागरिक समाज, सन्चार क्षेत्र, शिक्षा क्षेत्र र मानव अधिकार क्षेत्रका प्रतिनिधिहरु सदस्य रहेका छन् । यस्तै जिल्ला बार एसोसियसन, उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् ।

सन्जालको मासिक कम्तिमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्युनिकरणकालागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने कार्यविधि बमोजिम काम गर्ने सन्जालका संयोजक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीेले बताए । सो सन्जालको सल्लाहकारमा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमलता गौतम र म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी सल्लाहकार छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्तै सन्जालहरु सबै स्थानीय तह र वडास्तरसम्म पनि गठन गर्ने तयारी रहेको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए ।