धरान: अंग्रेजी नयाँ बर्ष भएर पनि मंगलबार सारा नेपालीहरु न्यू इयरको रमझममा थिए । यता, सिमित स्रोत साधनमा सञ्चालन भइरहेको धरान–३ स्थित सरस्वती बाल आश्रम भने यस्ता खुशीका पर्वहरु आउदा समस्यामा पर्ने गरेको छ । गतिलो आम्दानीको स्रोत नभएको आश्रमका बालबालिकाहरुलाई चाडपर्वहरुको बेला नरमाइलो लाग्नु स्वभाविक हो ।

यसपाली भने न्यू इयरमा आश्रमका बालबालिकाहरु निराश हुनु परेन । बेलुका नयाँ बर्षको खुशियालीमा आश्रमका बालबालिकाहरु पनि रमाउन पाए । उनीहरुालई यसपाली बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु आश्रममै पुगेर नयाँ बर्ष मनाए । बिपिको ब्याच २०१८ र लियो क्लब अफ धरान घोपा युनाइटेडका सदस्यहरुले नयाँ बर्ष र क्लब सदस्यहरुको जन्मदिनको खुशियाली बालबालिकाहरूसँग साटासाट गरे ।

प्रतिष्ठानमा अध्ययनरत ब्याच २०१८ र लियो क्लब घोपा युनाइटेडका सदस्यहरु ‘सुभारम्भ आजैबाट गर्छौ, युग परिवर्तन टाढा हैन, उत्सव उत्पादनमुलक बनाउँछौ, अनावश्यक तडकभडक हैन’ भन्ने सन्देश सहित नयाँ बर्ष र जन्मदिन मनाउन आश्रम पुगेका थिए । उनीहरुले आश्रमका २५ जना बालबालिकाहरुलाई आवश्यक २०० कापी तथा पेन्सिल, सार्पनर, क्रेयन आदि उपहारको रुपमा वितरण गरे । प्रति विद्यार्थी ८ थान मोटो खालको कपिको कुल मुल्य दश हजार रुपैया रहेको बताइएको छ । सोही अवसरमा क्लबका सदस्यहरु लियो मधुरेस गुप्ता, लियो हेमाचन्द्रन र राजुले आफ्नो जन्मदिन आश्रमका बालबालिकाहरुसंग मनाए । लियो क्लबका अध्यक्ष लियो युकेस कुसि र ब्याच २०१८ का प्रतिनिधि आसुतोस साहले संयुक्त रुपमा आश्रमका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरे ।

सधैं नयाँ बर्ष र जन्मदिन मनाउँदै आएका वीपीका विद्यार्थीहरुले यस अघिका बर्षहरुमा पार्टीको आयोजना गरेर तडक भडकका साथ मनाउने गरेका थिए । त्यसरी मनाइएको पर्वले आत्मिक सन्तुष्टि भने नपाएको ब्याच २०१८ का कक्षा प्रतिनिधि आसुतोस साहले बताए । यसपाली आश्रममा बालबालिकासँग मनाइएको नयाँ बर्षले छुट्टै खालको आत्मसन्तुष्टी मिलेको लियो क्लबका सचिव शुभम कुमार अग्रवालले बताए । उनले भने, ‘नयाँ बर्ष र जन्मदिनको असली सन्देश भनेको पनि अरुलाई खुशी बाँडेर मात्र जीवन सार्थक हुनसक्छ भन्ने हो ।’

यसअघि भोज खाएर र खुवाएर रमाइलो गरी नयाँ बर्ष र जन्मदिन मनाउँदै आएकोमा यस पाली बालबालिकाहरुसंग आश्रममा जन्मदिन र नयाँ बर्ष मनाउँदा मनमा सन्तुिष्ट मिलेको क्लबका उपाध्यक्ष मधुरेस गुप्ताले बताए । चाडपर्व र जन्मदिन मनाउने नयाँ संस्कारको सुरुवात गर्ने उद्देश्यकासाथ यो बर्षदेखि नयाँ अभियान सन्चालन गरिएको क्लबका अध्यक्ष लियो युकेस कुसिले जानकारी दिए ।