धरान: सार्वजनिक सवारीका चालकहरुलाई थप जिम्मेवार बनाउन आगामी माघ महिनादेखि ट्राफिक प्रहरीले प्रदेश नं १ मा अनिवार्य ड्रेस लगाउनुपर्ने नियम लागु गर्ने भएको छ ।

इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकलाई पहेलो ड्रेस हुनेछ भने सहचालकलाई हरियो रंगको हुनेछ । यसले सार्वजनिक सवारीका चालक, सहचालकहरुलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं एसपी रवि पौडेलले बताए ।

उनका अनुसार प्रदेश नं १ का सबै जिल्लामा रहेका ट्राफिक कार्यालयहरुलाई सर्कुलर जारी भइसकेको छ भने स्थानीयस्तरमा यातायात व्यवसायी, मजदुर संगठनहरुसँग पनि छलफल र समन्वय भइरहेको उनले बताए । ‘माघ १ वा माघ १५ गतेदेखि चालक, सहचालकलाई ड्रेस वितरण पनि गर्दै अभियानको थालनी गछौ,’एसपी पौडेलले भने,‘यसको लागि सबै जिल्लामा १५ दिने विविध कार्यक्रम पनि गछौ । एक महिनाको समय दिएर अनिवार्य लागु गराउछौ ।’

एपपी पौडेलका अनुसार ड्रेस लगाएपछि चालक, सहचालकलाई आफु जिम्मेवार हुनुपर्छ भन्ने भावनाको विकास गराउछ । ड्रेसले चालक र सहचालकको परिचय पनि दिन्छ । साथै, भट्टी पसलहरुमा गएर जथाभावी मदिरा पिउने बानीमा पनि नियन्त्रण गर्ने अपेक्षा लिएको उनले बताए ।