सुनसरी : दुहबी नगरपालिका २ का एक बालक ६ दिनदेखि बेपत्ता भएका छन् । माउण्ट मनास्लु सेकेण्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ बर्षीय प्रेमकुमार चौधरी गएको शुक्रबारदेखि परिवारको सम्पर्कमा आएका छैनन् ।

अभिभावकका अनुसार उनी बिहान ट्युस पढ्न स्कुल गएदेखि घर नै फर्किएका छैनन् । प्रहरीमा हुलियासहित निवेदन दिए पनि बिहिबार साँझसम्म प्रेमको कुनै पत्तो लाग्न सकेको छैन । उनका अभिभावकले बिहिबार पत्रकार सम्मेलन गर्दै छोरा खोजी दिन आग्रह गरेका छन् । उनका अनुसार छोरा साइकलमा स्कुल पढ्न जान्थे । शुक्रबार स्कुल गएदेखि घर फिरेका छैनन् ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख तथा प्रहरी निरीक्षक रामनारायण माझीले अभिभावकले हुलियासहित निवेदन दिएपछि प्रहरीले पनि खोजी र अनुसन्धान गरिरहेको बताए । ती बालकलाई जन्म दिने आमा भारतमा भएकोले त्यता पनि सम्पर्कको प्रयास भइरहेको उनले बताए । बालकको फुपूसँग पनि सोधपुछ गर्यौ, नेपालगञ्ज भएको फुपाजुको तिर गयो कि भनेर त्यता पनि बुझ्ने काम भइरहेको छ,प्रहरी निरीक्षक माझीले भने,पहिला पनि टिफिन खान आफन्तकोतिर गइरहने रहेछ । हामीले सबै आफन्तकोमा सोधी खोजी गरिरहेका छौ ।
निरीक्षक माझीका अनुसार बालकले घर फर्कने क्रममा साइकल बिग्रेर पसलमा बनाउन गएको पनि पाइएको थियो । त्यहाँ साइकल बनाएपछि आइतबार सय रुपैया शुल्क ल्याएर दिने भनेर हिडेको पनि भेटिएको उनले बताए । अपहरण नहुनसक्छ । नत्र अहिलेसम्म परिवारमा फिरौतीको कुरा आइसक्थ्यो,उनले भने,खोजी गरिरहेका छौ ।