मोरङ: मोवाइलको ब्याट्री पड्कदा बिराटनगर महानगरपालिका १५ का ११ बर्षीय अमित मण्डलको मृत्यु भएको छ । घटनामा सोही स्थानका ६ बर्षीया राधिका मण्डल घाइते भएकी छिन् ।

आज दिउँसो करिब १ बजेतिर स्थानीय सुभाष मण्डलको छोरा अमितको मृत्यु भएको हो भने राजेश मण्डलकी ६ बर्षीया छोरी राधिका घाइते भएकी हुन् । प्रहरीका अनुसार परालको आगो तापिरहेका दुवै बालबालिकाले बाटोमा भेटाएको मोवाइलको ब्याट्री आगोमा हाल्दा पड्किएको थियो । दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापीरहेक थिए । उनीहरुले बाटोमा मोवाइल भेटाएका थिए । सोही मोवाइलको ब्याट्री आगोमा हाल्दा पड्कििएको प्रहरीले जनाएको छ ।

ब्याट्री पड्किएर दुवै जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको थियो । उपचारकै क्रममा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घाईते बालिकाको सोही अस्पतालमा उपचार भईरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।