धरान: 'बाँच र बाँच्न देउ' यो नारा हो धरान १० स्थित मेरील्याण्ड इलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले बनाएको द बेकन मेरील्याण्ड युथ क्लबको । नारा जस्तै नै विद्यार्थीहरुको यो संस्थाले बर्षेनी असहाय, अशक्त व्यक्तिहरुलाई आवश्यकता बुझेर उनीहरुको घरमा नै पुगी सहयोग प्रदान गर्ने गरेको छ ।

यसपाली पनि क्लबले धरानको विभिन्न वडा, वस्तीमा पुगेर असहाय, अशक्तहरुको पहिचान गरी उनीहरुको आवश्यकता अनुसार शनिबार र आइतबार सहयोग प्रदान गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल मनोज राईका अनुसार शनिबार करिब ५० जना र आइतबार आज २५ जना भन्दा बढीलाई आवश्यकता अनुसार सहयोग गरिएको थियो । ‘४ वटा ह्विलचियर दियौ, अरुलाई कसैलाई खाद्यान्न, लत्ताकपडा, कम्बललगायत सामानहरु पनि दियौ,’उनले भने,‘लगभग १ लाख २० हजार बढीको सामान दियौ ।’

IMG_6731

क्लब २०७२ सालमा स्थापना भएको हो । अहिलेसम्म १४ लाख बराबरको च्यारिटी सहयोग भइसकेको क्लबकी सदस्य आस्था श्रेष्ठले बताइन् । ‘हामीले च्यारिटी फण्ड राइज गर्न हाइकिङ पनि गयौ । अशक्त, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने, उहाँहरुलाई मुस्कान ल्याउने र वातावरण संरक्षणमा पनि सक्रिय रहन्छौ,’उनले भनिन् । आइतबार स्कुल परिसरमा समापन कार्यक्रमको प्रमुख अतिथि एवं प्रतिनिधि सभाका सदस्य सांसद मिनबहादुर विश्वकर्माले सरकार र जनप्रतिनिधिले गर्नुपर्ने काम स्कुल र विद्यार्थीहरुले गरेको भन्दै प्रसंसा गरे । ‘पढ्ने र पढाउने कामदेखि बाहेक सामाजिक काम पनि गर्नु प्रसंसनीय छ । अरुलाई दिने मान्छे कहिल्यै दुःखी हुनुहुदैन,’पुर्वमन्त्री विश्वकर्माले भने ।

IMG_6770

विद्यालयका निर्देशक मुगाधन राई स्कुल र परिवारको परिवेशबाहेक पनि समाज बुझ्ने र सामाजिक काम गर्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई सामाजिक कार्यमा प्रेरित गरिएको बताए । उनले भने,‘स्कुल पढ्न आएकाहरुले दुःख, समस्या के हो भन्ने देखेका हुदैनन् । धरानभित्रै उनीहरुले कहिल्यै नदेखेको, नसोचेको दुःख पाएर बसेका छन्, यसले उनीहरुलाई समाज बुझ्न सहयोग पुग्छ, र सामाजिक कार्य, सहयोगी हुन प्रेरित गर्छ ।’

IMG_6801