भोजपुर : भोजपुर सदरमुकामदेखि ग्रामीण भेगमा चल्ने साना सवारीसाधनले मनोमानी ढंगले भाडादर असुलेपछि यात्रुहरु मारमा पर्ने गरेका छन् ।

समान दुरी, कच्ची सडक र भौगोलिक अवस्था अनुरुप समान सडकखण्डका रुटहरु भएपनि जिल्लाका अधिकांश ग्रामीण सडकमध्ये ४२ किलोमिटर भोजपुर–घोरेटार सडकखण्डमा साना ट्याक्सी व्यावसायीले आफुखुशी भाडादर कायम गरेर सवारी चलाउने गरेका छन् । ०६७ सालमा ट्रयाक खोलिएको भोजपुर–घोरेटार सडकखण्डमा चल्ने साना गाडिले अन्य क्षेत्रमा चल्ने साना ट्याक्सीले भन्दा यात्रुहरुलाई प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरेको छ ।

सदरमुकामबाट उत्तरी दिङ्ला जोड्ने ४२ किलोमिटर भोजपुर – दिङ्ला सडकखण्डमा भने ट्याक्सीले प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडा कायम गरेको छ । उही दुरीमा गाडि चलेपनि आफ्नो घर पुग्नलाई भने महंगो भाडा तिरेरै कष्टकर यात्रा गर्नुपरेको घोरेटारका पर्शुराम ओझाले बताए । उनले भने, ‘सदरमुकामबाट दिङ्ला जान ५ सय रुपैयाँ छ, हामी त्यति नै दुरीको घोरेटार पुग्न आठ सय रुपैयाँ तिर्नुपर्छ ।’

भेजपुरदेखि दिङ्ला, धरान, चखेवा, छुट्ने ट्याक्सीहरु यात्रुलाई मार नपर्नेगरी प्रशासनिक रुपमै भाडादर कायम गरेपनि भोजपुर–घोरेटार चल्ने साना ट्याक्सी व्यवसायीहरु भने कम्पनीको संगठनमा आबद्ध नभएपछि आफुखुशी भाडादर लगाउने गरेको ट्याम्के मैयुङ यातायात प्रालिका अध्यक्ष राजन राईले बताए ।

–औजार दैनिक