धरान(डेस्क): प्रदेश नं १ को पहाडी जिल्ला पाँचथर र ईलाममा आइतबार बिहान भएको आगलागीबाट करिब ४७ लाख मूल्य बराबरको क्षति भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ च्याबलुङ बस्ने गणेश फुयाँलको घरमा बिहान आगलागी हुँदा करिब ३३ लाख मूल्य बराबरको क्षति भएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । बिहान करिब सवा ४ बजे फुयाँलको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट घरसहित भित्र रहेको लत्ताकपडा, भाडावर्तन, १ तोला सुन, ५ तोला चाँदी र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

उक्त आगलागी प्रहरी चौकी राँके, शसस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन ।

यसैगरी, ईलाम जिल्लाको ईलाम नगरपालिका ७ बस्ने मनबहादुर गुरुङको घरमा आगलागी हुँदा करिब १४ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान साढे ६ बजे गुरुङको घरमा डेरा गरी बस्ने बिष्णुमाया लिम्बु बसेको २ तले घरको माथिल्लो तलाको भान्सा कोठाबाट ग्याँस सलिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट घरको माथिल्लो तथा पूर्ण रुपमा क्षति हुनको साथै नगद १० लाख, सुन, चचाँदीको गरगहना र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा विहान साढे ७ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।