इटहरी  : डा. गोविन्द केसीको समर्थनमा हिजो शनिबार बिहानबाट इटहरीमा रहेको लिबरल सोसाइटीका क्रियाशिल युवाहरुले सामूहिक अनसन बसेको २४ घण्टापछि आज इटहरीमा बालिकाको हातबाट जुस पिएर तोडिएको छ । 

स्थानीय बालिका सुम्निमा लिम्बूको हातबाट सोसाइटीका अध्यक्ष शुभेक्छु देवान राईले जुस पिएर युवाहरुले सामूहिक रुपमा अनसन तोडेका थिए । सरकारले शुक्रबार चिकित्सा शिक्षा विधेयक शैक्षिक माफियाको पक्षमा पारित गरेको भन्दै युवाहरुले डा. केसीको जीवन रक्षा र उनका मागहरु पुरा गर्नका लागि सरकारलाई दबाब दिनका लागि अनसन बसिएको अध्यक्ष राईले बताए । उनका अनुसार सरकारले गोविन्द केसी एक्लै भएको महसुस हुन नदिनका लागि युवाहरुले सामूहिक रुपमा अनसन बसिएको हो । 

गरीब, विपन्नले पनि सर्बसुलभ मूल्यमा डाक्टर पढ्न पाउनुपर्ने मागसहित विभिन्न प्ले कार्ड बोकेर शनिबार विहान इटहरी नगरपरिक्रमा गरि अनसन सुरु गरिएको थियो ।
आइतबार राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले, इटहरी ६ का वडाध्यक्ष दीपक गौतम लगायतको उपस्थितिमा अनसन तोडिएको थियो । अनसन तोडेपछि डा. वाग्लेले भने, ‘उहाँका सबै मागहरु पुरा गर्न नगरेपनि, सरकार बार्तामा नआउनु दुःखद् छ, उहाँले सामाजिक इस्युका विषयमा पहल गर्नु भएकोछ त्यो अनुकरणीय छ ।’ राज्य आँफैले गर्नुपर्ने कामहरुमा केसीले सहयोग गरेको भएपनि सरकारले बार्तामा आउने प्रयास नगर्नु राम्रो कुरा नभएको उनको भनाई थियो ।