विराटनगर : प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई सद्भावनादूतमा नियुक्त गरेको छ ।

सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच (आइतबार) आज सम्झौता भएको छ । एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६-२१ को स्वस्थ जीनवशैली प्रर्बधन सम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैँ सफा गर्छु’, ‘समुदायको सरसफाइमा मेरो दायित्व’ जस्तानारासहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरुदेखि नै प्रयत्नशील भएको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र ‘स्वास्थ्य प्रवद्र्धन वर्ष-२०७५’लाई मूर्त रुप दिन सबैजना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्नेमा जोड दिए । रासस