विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा बलुवाईमा आइतबार एक बालिकाको शव फेला परेको छ ।

शनिबार राती छिमेकीको घरमा टिभी हेर्न गएकी १० बर्षीय रुपमति घर नफिरे पछि आइतबार खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् । राती टिभि हेर्न गएकी छोरी नफर्केपछि राती पनि खोजी भएको थियो । बिहान पनि खोजी गर्नेक्रममा भने सिंगिया खोला किनारमा मृत अवस्थामा भेटिएको मृतककी बुबा रामप्रसादले बताए । राम प्रसाद र मनीदेवी दासको दुई छोरी मध्येकी कान्छी छोरी हु्न् रुपमति । उनी स्थानिय नारायणी स्कूलमा कक्षा १ मा अध्ययरत थिइन् ।

छोरी विहान घरमा नभेटिएपछि बुबा रामप्रसाद आइतबार विहान मोरङ प्रहरीमा खोजी दिन भन्दै पुगेका थिए । मृतक बालिकाको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । निम्न आर्थिक अवस्थाका रामप्रसादले रिक्सा चलाएर परिवारको गुजारा गर्छन् । उनका ७ र ६ वर्षका छोराहरु पनि छन् भने १२ वर्षकी जेठी छोरी पनि छन् ।

वालिकाको शव भेटिएपछि मोरङ प्रहरीले डिएसपी कृष्णप्रसाद खड्काको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको छ । मृतकले लगाएको चप्पल घर नजिकै चौरबाट वरामद भएको छ भने मृतक वालिकको कपडा फेला पर्न सकेको छैन । वालिकाको शव नग्न अवस्थामा भेटिएकोले बलात्कार पछि हत्या भएको अनुमान गरिएको छ । स्थानीयका अनुसार वालिकाको मुखमा पनि चोट छ । मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मनोज कुमार केसीले अनुसन्धान शुरु भइसकेको तर तत्काल केही भन्ने अवस्था नभएको बताए ।