धरान: धरान क्षेत्रमा पार्किङ गरी राखेको सवारी साधनहरुको ब्याट्री चोरी गर्ने र खरीद गर्ने दुई व्यक्तिलाई ४ वटा ब्याट्रीसहित प्रहरीले पक्राउ गरेको छ ।

ब्याट्री चोरी गर्ने मोरङको सुन्दर हरैचा नगरपालिका ६ का ३० बर्षीय सोमबहादुर कार्की र उनले चोरी गरेको ब्याट्री सस्तोमा खरीद गर्ने ग्यारेज सञ्चालक धरान १० का ४३ बर्षीय निमेष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयको खोजतलाश गरी सवारीसाधनको ब्याट्री चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

क्षेत्रीको ग्यारेजबाट ४ थान चोरीको ब्याट्री पनि वरामद भएको प्रहरीले जनाएको छ । ब्याट्री धनीबाट जाहेरी परेको र चोरी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोटरसाईकल लुटपाट गर्ने थुनामा

Untitled-2 6

गत मंसिर २७ गते धरान १७ स्थित सर्दु खोलामा कोशी गाउँपालिका ३ का बेचन मियाँले चलाएको मोटरसाइकलसहित अन्य सामान लुटपाटमा संलग्न ५ जना पक्राउ परेका थिए । ती मध्ये जिल्ला अदालतमा जनही ५० हजार धरौटी बुझाएर ३ जना छुटेका छन् भने दुई जना थुनामा गएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार आज जिल्ला अदालतको आदेशले लुटपाट गर्ने ङिमा ओङजु शेर्पा र बिनोद लिम्बुलाई थुनामा पठाइएकोछ । अन्य ३ जनालाई भने जनही ५० हजार धरौटी माग भएको थियो । उनीहरु धरौटी राखी तारेखमा रिहा भएका छन् । धरौटीमा छुट्नेहरुमा चोरीको मोटरसाइकलको पार्टपुर्जा खोलेर बिक्री गर्ने ग्यारेज संचालक धरान १० का लडन अन्सारी, धरान १३ का महेस कुमार बि.क. र ग्यारेजमा काम गर्ने प्रकाश चौधरी छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरी डाँका चोरी मुद्दामा चललाएको थियो ।

यसैगरी, पुष १६ गते धरान १८ का सुरेन बासफोरको को १ ह ८०३२ नम्बरको सिटि सफारी चोरी गरेर इटहरी तर्फ लादै गरेको अवस्थामा सिटि सफारी सहित पक्राउ परेका धरान १६ का १९ बर्षीय मन्जिल कट्वाल र इटहरी ४ का २३ बर्षीय रमेश श्रेष्ठ पनि थुनामा गएका छन् ।

प्रहीले उनीहरुविरुद्ध चोरी मुद्दा दायर गरेको थियो । जिल्ला अदालतबाट उनीहरुलाई जनही एक लाख धरौटी माग भएको थियो । धरौट िराख्न नसकेपछि दुबै थुनामा गएको प्रहरीले जनाएको छ ।