धरानः दुवै मृगौला बिग्रिएर धरान–७ मा अस्थायी रुपमा डेरा गरी बसोबास गदै उपचाररत कर्ण बहादुर मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

धरान–१५ का सुनगाभा मार्ग र दशरथ पथका स्थानीयहरुले संकलन गरेको रकम पीडित मगरलाई प्रदान गरिएको हो । स्थानीय अमृत राईको नेतृत्वमा संकलन गरिएको नगद ५४ हजार ५ सय ४५ रुपैयाँ पीडित मगरलाई सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम मगरको घरैमा पुगेर राईसहित मनबहादुर आले, बद्री निरौला, राजन खड्का, भीम लिम्बूले मगर दम्पतीलाई हस्तानतरण गरेका हुन् । उनीहरुले नगद हस्तान्तरण गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका पीडित मगरको स्वास्थ्य उपचारमा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको नेतृत्वकर्ता राईले बताए । ‘उहाँको स्वास्थ्य उपचारमा थोरै भएपनि सहयोग पुगोस्, र अरुले पनि यसरी नै सहयोग गरुन् भनेर सहयोग गरेका हौं,’उनले भने ।

S6910027

४९ वर्षिय मगरलाई २ वर्षदेखि प्रेसरको समस्या देखिएको थियो । मृगौलामा सामान्य असर देखा परेको थियो । गत असोजदेखि थलिएका मगरको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाब दिएका थिए । उनलाई श्रीमतीले मृगौला प्रदान गर्ने भएकी छिन् । मृगौला पीडित मगर कुक काम गरेर परिवार धानिरहेका थिए । उनको दुई छोरा बुहारी, श्रीमती छन् । उनको उपचारमा हालसम्म करिब ६० हजार रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५–१५ दिनमा डायलाइसिस गराउदै आएका उनले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गर्ने तयारी गरेका छन् । त्यसको लागि कम्तीमा ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने परिवारलाई बाध्यता छ ।

आर्थिक अवस्था कमजोर रहेका मगरको मृगौला प्रत्यारोपणमा अहिले खर्च अभाव बाधाकोरुपमा देखिएको छ । उपचारमा मनकारीहरुले सहयोग गरे आफु बाँच्ने आशा भएको पीडित मगर बताउँछन् । ‘उपचार खर्च जोहो गदैछु, केही सहयोग पाएको छु । सबै मनकारीहरुबाट सहयोग गरिदिए बाँच्ने थिँए,’उनले भने ।