झापा: झापाको दमकका खेमराज भट्टराई दमक ९ स्थित बुद्धचोकमा आफु अनुकुल हुने गरी बसलाई रोक्न संकेत गरे, चालकले बस रोकिदिए । उनले बस रोकेको ठिक १० मिटर पश्चिममा बसपार्क छ । जहाँ बस रोक्नका लागि खुल्ला ठाउँ पनि छ । त्यहा बस रोक्दा कसैलाई पनि समस्या हुदैन तर भट्टराईले आफु अनुकुल स्थानमा नै बस रोकेर यात्रा गरे ।

पूर्व पश्चिम राजमार्गको साँगुरो सडकमा दैैनिक ठुला साना गरी सयौ सवारीका साधानहरु दौडिरहेका हुन्छन् । राजमार्गको संरचनामा आवश्यकता अनुसार ठाँउ ठाँउमा साना ठुला सार्वजनिक सवारी साधान रोक्नका लागि बसपार्क र बस स्टेण्ड निर्माण गरिएको छ । तर न चालकले नै यी स्थानमा बस रोक्छन्, न त यात्रु त्यहाँसम्म पुगेर बसमा चढ्न मन गर्छन् । सवारी चालक किशोर राई आफुहरुलाई यात्रुले यसो हात उचालेपछि बस रोक्नैपर्ने बाध्यता रहेको बताउँछन् । जहा पायो त्यही बस रोक्न हुदैन भन्ने ज्ञान उनमा हुदै नभएको भने होईन तर उनी आफुले यात्रुले भने ठाउमा बस नरोके पिटाईको सिकार हुने गुनासो गर्छन् ।

सार्वसाधारण यात्रुको व्यवहारमा परिवर्तन आउन नसक्दा राजमार्गमा यात्रु तथा अन्य सवारीका साधानलाई असर पुग्ने गरी सार्वजनिक सवारीका साधानहरु रोकिने गरेका छन् । सडक नियमको ठाडो उल्लंघन गर्दै संचालनमा आउने सवारी साधनहरु र जथाभावी बस रोक्ने अनि बाटो काटने पैदल यात्री र यात्रुहरुका कारण सडक दुर्घटनाको जोखिम समेत थपिदै गएको छ ।

झट्ट हेर्दापनि अति नै असभ्य जस्तो देखिने यो हाम्रो व्यावहारले सडक दुर्घटना त बढाएको छ नै, नियामक निकाय ट्राफिक प्रहरीलाई पनि उस्तै आजित बनाई रहेको दमक ट्राफिक प्रमुख दधिराम दाहाल बताउँछन् । आफुहरुले विभिन्न जनचेतनामुलक कार्यक्रम निरन्तर गरिरहेको भएपनि व्यक्ति स्वयम् सचेत नहुदासम्म ट्राफिक एक्लैले केही गर्न नसक्ने उनको भनाइ छ ।

सडक देखिएको यो अवस्थालाई सुधार ल्याउन नियमनकारी निकायको भूमीका न्यून देखिएको छ । यात्रुहरुमा पनि जनचेतनाको अभाब र क्षणिक स्वार्थका कारण सडक दुर्घटनाको जोखिम निम्ति रहेको दुर्घटना न्यूनिकरणको क्षेत्रमा क्रियाशिल जिवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतमको भनाइ छ । यसको निराकरणकालागि सवैले सभ्य नागरिक बन्न आवश्यक रहेको उनको ठम्याई छ ।