धरान : सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेपछि उत्साहित भएका दलित समुदायमाथि झुठो मुद्दा लगाउन थालेको भन्दै धरानका दलित अगुवाहरुले विरोध जनाएका छन् ।

शनिबार विश्वकर्मा कल्याण सेवा समितिको सभाहलमा भएको दलित अगुवाहरुको भेलाले सरकारले पछिल्लो समय मुलुकी ऐनको आधारमा अन्तरजातीय विवाह गरेका दलित युवाहरुलाई कथित उपल्लो जाति र प्रहरी प्रशासन मिलेर नै बालविवाह, बलात्कार जस्ता काल्पनिक मुद्दा दर्ता भइरहेको भन्दै विरोध जनाएका हुन् । यसले समाजमा जातीय विभेद र छुवाछुतको श्रृङ्खलालाई निरन्तरता दिईरहेको पनि सो भेलाले निष्कर्ष निकालेको र सबै तहका संसद, प्रशासन र आम समुदायमा खबरदारी, सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको दलित विकास समिति धरानका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् ।

पछिल्लो समय धरानमा अन्तरजातीय विवाह गरेका युवाहरुलाई बलात्कारको मुद्दा दर्ता भएको थियो । धरान ११ का विशाल रम्तेलकी आमा उषा रम्तेल र इटहरी ४ का विक्रम नेपालीका बुबा लालबहादुर रम्तेलले समेत आफ्ना छोराहरुलाई सुनियोजित रुपमा फसाइएकोले आफुहरुमाथि अन्याय भएको गुनासो गरे । गत भदौं अन्तिम साता धरान १७ की स्मृति थापासँग विवाह भएका विशाल अहिले क्षेत्रीय कारागार झुम्कामा ५ महिनादेखि बलात्कारको मुद्दामा कारागार भुक्तान गरिरहेका छन् ।
त्यसैगरी धरान ८ की रुषा धिमालसँग प्रेम विवाह गरेका विक्रम नेपालीलाई वालविवाहको झुठो मुद्दा लगाइएको छ । वालविवाह गरेको प्रमाणित नभएपछि जिल्ला अदालत सुनसरीले १ लाख ५० हजार धरौटीमा तारेखमा छोड्न आदेश दिएको थियो । उनलाई मोरङबाट रुषाका अभिभावकले बलात्कारको मुद्दा पुनः दर्ता गरेका छन् । पछिल्लो मुलुकी ऐनमा १८ बर्षमुनिकालाई बालबालिका मानेको र सहमतिमा विवाह वा शारीरिक सम्पर्क गरेपनि बलात्कार हुने व्यवस्था भएको छ । सोही कानुनी व्यवस्था अनुसार दलित युवासँग विवाह गर्ने किसोरीका परिवारले बलात्कार मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।

भेलामा मिजार सेवा समाजका प्रतिनिधि नविन रम्तेलले अन्तरजातीय विवाहलाई बलात्कार जस्ता अपराधमा परिभाषित गर्दै फसाउने काम भइरहेको भन्दै संघर्षको कार्यक्रम गर्नुपर्ने बताएका थिए । त्यसैगरी दलित विकास समितिका संयोजक किशोर परियारले जात नमिलेपछि बलात्कारको झुठो मुद्दामा दलितलाई फसाउने कार्य भएकोमा आपत्ति जनाए ।
भेलामा अधिकारकर्मी सपना परियारले सरकारको नीति र व्यवहारमा एकरुपता नभएको बताइन् । जनप्रतिनिधिहरुले समुदायका लागि लाग्नुपर्ने सुझाव दिँदै पछिल्ला घटनाहरुका विरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्नुपर्ने बताइन् । जातीय भेदभाव कायम राख्न चाहने तत्वले गलत र काल्पनिक कथा बुनेर मुद्दा दर्ता गराउने र सोझा सिधा दलित युवाहरुलाई फसाउने काम भएको भन्दै कानुन संशोधन गरेर भएपनि दलित समुदायमाथि हुने भेदभावको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताइन् । भेलामा दलित महिला सञ्जाल धरानकी अध्यक्ष नरमाया परियार, मुक्ति समाज धरानका संयोजक खगेन्द्र नेपाली, धरान उपमहानगरपालिकाका न्यायिक समिति सदस्य सावित्रा परियार, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष केदार बराइलीले पनि विरोध जनाएका थिए ।