धरान(डेस्क): पाँच दिनअघि(माघ २८) रामधुनी नगरपालिका १ स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने शिवचौकमा भएको एक वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले ८७ बर्षीय नरबहादुर क्षेत्रीको हत्यामा संलग्न रमेश राईलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मृतक क्षेत्रीको माघ २८ गते मध्य रातमा उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । क्षेत्रीको २ तले पक्की घरको पुर्ब पट्टीको आफ्नै कोठाभित्र हत्या भएको अबस्थामा शव फेला परेको थियो । घटनाबारे २९ गते बिहान करिब साढे ७ बजे प्रहरीले खबर पाएपछि छुट्टा छुट्टै ३ वटा अनुसन्धान टोली परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा टोली खटिएको थियो भने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वको आरआइटी टोली परिचालन भएको थियो । यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक जितेश दाहालको नेतृत्वमा अर्को अनुसन्धान टोली पनि खटिएको थियो । घटनाको मिहिनढंगले अनुसन्धान गरिरहेको प्रहरीले अन्ततः ५ दिनभित्र नै हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भयो ।

samahila

प्रहरीका अनुसार पेन्टर काम गर्ने रमेश राईले क्षेत्रीको हत्या गरेका थिए । उनी संखुवासभाको मकालु गाउँपालिका ४ का स्थायी बासिन्दा भएपनि हाल इटहरी ५ स्थित नरमाया लिम्बूको घरमा डेरा गरी बस्दै आएका थिए । उनलाई बिहिबार इटहरी १७ स्थित पकलीबाट प्रहरीले पक्राउ गरेको थियो । 'घरबाट चोरी भएको सबै सामानहरु पनि वरामद गरेका छौ, र आज अदालतबाट म्याद थप पनि भइसकेको छ,'जिल्ला प्रहरी कार्यालय इनरुवाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले भने,'आज पहिलो चोटी भएकोले ३ दिनको म्याद थप भएको छ ।' उनलाई ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप भएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट अभियुक्त लागुऔषध दुर्व्यसनी रहेको खुलेका छ भने उनले आफु बस्ने डेरा परिवर्तन गरिरहन्थे । यस्तै, हत्या गरिएका व्यक्तिको घरमा पहिलो डेरा लिएर करिब २ महिना अघि मात्र राईले छोडेका थिए । मृतक क्षेत्रीमा मादक पदार्थ सेवन गर्ने वानी थियो भने अनुसन्धानको क्रममा रातमा घरको ढोका र गेट राम्ररी बन्द नगरेको पनि प्रहरीले पाएको थियो । मृतक आफ्नो घरमा एक्लै वस्दै आएका थिए । हत्या पश्चात चोरी गरी लगेको सामान हत्या अभियुक्तले आफ्नो डेरामा लुकाइ छिपाई राखेको अवस्थामा फेला पारिएको डिएसपी फुँयालले जानकारी दिए ।

1 1

पक्राउ परेका राईको डेराबाट सामसुंग कम्पनीको २ वटा मोवाइल, ४० इञ्चको सोनी कम्पनीको एलइडि टिभि, डेल कम्पनीको कालो ब्यागसहितको ल्यापटप, लेडिज साइकल एक थान वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, काँचको ३ थान थाल, कार्ड रिडर, सुनको सिक्री, नेपाली रुपैया २२ सय ५० पनि वरामद भएको प्रहरीले जनाएको छ । वरामद भएको साइकल अभियुक्तले घटनामा प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।