झापाः नेपाल र भारत दुई देशबीचको सिमानामा बस्ने नागरिकको आर्थिक अवस्था कमजोर हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण यस क्षेत्रका किसोर किसोरीहरुले बिचैमा पढाई छाड्न बाध्य छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा रहेको एउटा गाउँ हो, फत्तेपुर । त्यहाँ पुग्दा र झट्ट हेर्दा यो नेपालकै भूमि भएपनि भारतकै भूमि हो कि भन्ने भान हुन्छ । यही गाउँमा बस्छन् उमेरले २१ वर्ष पार गरेका मुनेश प्रसाद गन्गाई । उनले ६ कक्षा पढेर पढाई नै छाडे । पढाई छोडेर उनी कमाउन भन्दै विदेशिए । तीन वर्ष लाहुर बसेर स्वदेश फर्किए । मुनेशलाई कम्तीमा १० कक्षा सम्म चाहि पढ्छु भन्ने नै थियो । तर उनको पढाई बिचैमा छाड्नुपर्ने कारक बन्यो उनको घरभित्रको गरिबी । त्यही गरिबीले मुनेशलाई बिदेश पुर्यायो ।

मुनेशकै छिमेकी मध्येका एक हुन् राजकुमार सिहं । राजकुमारलाई पनि कम्तीमा १० कक्षा सम्म चाहि पढ्छु भन्ने नै थियो । तर उनलेपनि ६ कक्षा पढेर पढाईलाई तिलाञ्जली दिनुपर्यो । उनको बिचैमा पढाई छाड्नुको कारकपनि उहि गरिबी नै बन्यो । उमेर १८ वर्ष पुगेका राजुकमारका बुवा २ बर्ष अघि निक्कै बिरामी परे । बुवा बिरामी परेपछि घरमा हातमुख जोर्न त कमाउनै पर्यो । त्यसैले उनले पनि बिचैमा पढाई छाडेर कमाउन थाले ।

sima-2

झापाको दक्षिणी सिमावर्ती क्षेत्रका नागरिकहरुको आर्थीक तथा शैक्षिक अवस्था यस्तै यस्तै नै छ । उमेरले १५ नाघेपछि कमाउन भन्दै भारतका बिभिन्न शहर जानुपर्ने बाध्यता उनीहरुमा छ । १८ वर्ष नाघेपछि राहदानी बनाएर खाडीका बिभिन्न मुलुक उनीहरुको गन्तब्य बन्छ । यहाँका किसोर किसोरीको यो अवस्था रहर नभएर बाध्यता बनेको अभिभावक बासुदेवी सिहंको भनाइ छ ।

बिषेश गरि आदिवासी जनजातीको मुख्य बसोबास रहेको यो क्षेत्रमा कम उमेरमै विवाह गर्नु र आर्थिक अवस्था कमजोर हुनुले बीचैमा पढाई छोड्ने गरेको स्थानीय जनता बाल बिकास आधारभूत बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद भण्डारी बताउछन् । गौरीगन्ज गाउँपालिका वडा नं ५ फत्तेपुरमा अवस्थित यो सिमा नाकामा गन्गाई, राजबंशी र ताजपुरीयाको बसोबास रहेको छ । स्थानीय खेतबारीमा ज्याला मजदुरी गरेर उनीहरुले जिवन यापन गर्नु परेकोले पनि पढाईमा उचित ध्यान दिन नसकेको उनीहरुको भनाई छ ।
गौरीगञ्ज गाउपालिका प्रमुख बाबुराजा श्रेष्ठ गाउपालिकाले यो समस्या समाधान गर्नका लागि केही पहल गर्ने बताउँछन् । उनका अनुसार गाउपालिकाको शिक्षा शाखाले यस्ता समस्या देखिएका स्थानको पहिचान गरि निकट दिनमै समस्या समाधानका लागि बिशेष पहल सुरु गर्नेछ ।