इटहरी:आफुले खरीद गरेको इटहरी ४ को जग्गा भोगचलन गर्न नपाए पछि इटहरी २० की शारदा कटवालले अब अदालती प्रक्रियामा जाने भएकी छिन् ।

विभिन्न सरकारी निकाय तथा स्थानीय सरकारमा पुगेर आफ्नो समस्या बताए पनि कतैबाट न्याय नपाएको गुनासो गर्दै उनी अदालती प्रक्रियामा जाने निधोमा पुगेकी हुन् । उनले करिब डेढ बर्षअघि इटहरी ४ ख किता नं १३३७ र १३४७ को १० धुर जग्गा किनेकी थिइन् । तर, उक्त जग्गामा २०६८ सालदेखि नै जीवा र सीता चौधरीले छाप्रो बनाएर बसेका थिए । चौधरी परिवारलाई आफुले खरीद गरेको जग्गाबाट हटाउन खोजे पनि कटवालले नसकेपछि वडा कार्यालय, उपमहाहनगरपालिका, प्रहरी र जिल्ला प्रशासनमा पनि निवेदन दिएकी थिइन् । तर, कतैबाट पनि आफुले न्याय नपाएको उनको भनाई छ ।

छलफलको क्रममा चौधरीद्धयले शारदामाथि हातपातसमेत गरेका थिए । उक्त घटनापछि पनि न्याय नपाएको उनको गुनासो छ । 'मैले आफ्नो जग्गामा भोगचलन गर्न जादा किन नपाउने ? म माथि हातपात नै भयो, तर उनीहरुलाई कतैबाट कारबाही भएन,' उनले भनिन् । आफुले खरीद गरेको जग्गा भोगचलनबारे वडा ४ मा छलफल गरिएपनि नमिलेपछि अब अदालती प्रक्रियाबाटै अघि बढने शारदाले बताईन् । उनले भनिन्,'मैले वडा कार्यालयमा आउँदा पनि न्याय पाइन, अब अदालती प्रक्रियामा जान्छु ।' 

sarada-katwal-ko-jagga

चौधरी परिवारले २ लाख ५३ हजार रुपैया मागेको र सो रकम दिएमात्र आफूहरु जग्गा छोड्ने भन्दै बार्गेनिङ गरिरहेको कटवाल परिवारको भनाई छ । आफुहरुले बाटो, कल्र्भट बनाउँदा र जग्गा माटो हालेर पुरेबापत लागेको रकम भन्दै मागेको शारदाले बताइन् । टोल विकास समितिले बाटो बनाउँदा लागेको ६१ हजार रुपैया आफुले दिन सहमत भएपनि चौधरी परिवारले अत्यधिक बढी रकम माग गरेको उनको भनाई छ । 'पहिला पाँच लाख भन्दा बढी मागेको थियो, पछि मेलमिलाप समितिले २ लाख ५३ हजारमा मिलाउन लागिपरेको थियो,'उनले भनिन् ।

वडा ४ की महिला सदस्य लक्ष्मी चापागाईको संयोजकत्वमा विश्वेश्रर पोखरेल, मुक्ति रिजाल, जमुना भण्डारी सदस्य रहेको मेलामिलाप समिति गठन भएको थियो । समितिले तोकेको रकम तिर्न नसक्ने र टोल विकास समितिले सार्बजनिक गरेको ६१ हजार रुपैया मात्र आफूले तिर्ने बताएपछि कुरा नमिलेको मेलमिलाप संयोजक चापागाईले बताइन् । इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले कसैको पनि स्वामित्व भएको जग्गामा अरुले हडप्न नपाउने प्रतिक्रिया दिए । 'सारदा जी को जग्गामा अरुले बस्छु भनेर बस्न पाउने कुनै पनि कानुनमा लेखिएको छैन, आफ्नो जग्गामा बस्न शारदा जीले पाउनुपर्छ,'उनले भने । उक्त जग्गा शारदाले जगन्नाथ भट्टबाट करिब डेढ बर्षअघि खरीद गरेका हुन् । तर, त्यहाँ २०६८ सालबाट नै चौधरीले ऐलानी जग्गा भन्दै टहरा बनाएर बस्दै आएका थिए । उक्त ठाउँमा करीब ४ दर्जन बढी ऐलानी बस्ती रहेको छ ।