धरान: बिहिबार ब्रेक फेल भएको बसबाट अत्तालिएर हाम्फाल्दा मृत्यु भएको एक बृद्धाको सनाखत भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने वृद्धा धनकुटाका छथर जोरपाटी गाउँपालिका ३ कय ६५ बर्षीय प्रेमबहादुर भटराई हुन् । मृतकको परिवार बिहिबार राती प्रहरीको सम्पर्कमा आएको वीपी प्रतिष्ठानस्थित प्रहरी बिटका इञ्चार्ज तथा सई तिलक गिरीले जानकारी दिए । मृतक भटराईको शव आज शुक्रबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइनेछ । बिहिबार धरानबाट धनकुटाको छथर चुलाचुली जादै गरेको बस भेडेटार कटेपछि ब्रेकफेल भएको थियो ।

भेडेटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार कट्टेलका अनुसार चालकले बसको ब्रेक नलागेको भनेपछि सहचालक(कण्डक्टर) ओट लगाउन गुडिरहेको बसबाट झरेका थिए । त्यसैबेला ढोका नजिकै रहेका वृद्धा भटराई र अन्य २ महिला पनि हाम्फालेका थिए । ‘चालकले ब्रेकफेल भयो भनेपछि कण्डक्टर ओट लगाउन झरेको देखेर उनीहरु पनि अत्तालिदै हाम्फालेका रहेछन्,’प्रसनि कट्टेलले भने,‘गुडिरहेको बसबाट हाम्फाल्दा सडकमा बजारिएर मृत्यु भयो, बस चै कण्डक्रटले ओट लगाएर रोकिएको थियो ।’