धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय गर्दै ४२ औं बिशेष सिनेट बैठक आज काठमाण्डौंमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकमा वीपी प्रतिष्ठानबारे यसअघि गठन भएको २ वटा छानबिन समितिको प्रतिवेदनमाथि मात्र छलफल भएको थिएन, उक्त बैठकमा सिनेट सदस्यकोरुपमा सहभागी धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले १२ वटा बुँदामा विभिन्न बिषयहरु प्रस्तुत गरेकी थिइन् । उनले सिनेट बैठकमा प्रस्तुत गरेको बिषयहरुप्रति बैठक सकरात्मक भएको र आगामी बैठकहरुबाट क्रमिकरुपमा सम्बोधन गर्दै जाने निर्णय भएको बताइन् । ‘आज बैठकमा मुख्य एजेण्डा नै छानबिन समितिको प्रतिवेदनबारे थियो, तर मैले धरानबासीहरुको तर्फबाट पेश गरेको बिषयहरुलाई पनि क्रमिकरुपमा सम्बोधन गर्दे जाने भन्ने कुरा भयो,’कार्यवाहक प्रमुख भण्डारीले भनिन्,‘मैलै राखेको बिषयमध्ये एमसिएच भवनलाई चाडो निर्माण पुरा गरी सञ्चालनमा ल्याउनुपर्छ भन्ने बिषय र अंकोलोजी, कार्डियोलोजीको लागि बजेट माग गरेर शुरु गर्ने चै सम्बोधन भयो, निर्माण रोकिएको भवन अब शुरु हुन्छ ।’

प्रतिष्ठानले प्रदान गर्ने सेवाको गुणस्तरमा ह्रास आएको बिषयमा गएको चौथो नगरसभामा व्यापक गुनासो र असन्तुष्टी आएपछि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको कार्यवाहक प्रमुख भण्डारीले बताइन् । सोही निर्णयअनुसार आफुले नगरबासीको तर्फबाट ती बिषयहरु सिनेट बैठकमा पेश गरेको उनले बताइन् । प्रतिष्ठानको विकास र सुन्दर भविष्यको लागि भन्दै कार्यवाहक प्रमुख भण्डारीले सिनेट बैठकमा पेश गरेका बिषयहरु यस्ता छन्:

53075101_608251106291212_47

१) धरान उपमहानगर पालिका भित्रका विपन्न नागरीक हरुको उप महानगर पालिकाको सिफारीसका आधारमा निःशुल्क उपचारको व्यवस्था गरिनु पर्छ ।
२) एमविविएस र विडिएस अध्ययनका लागि धरानका लागि न्यूनतम ५ प्रतिशत सिट सुःनिश्चित गरिनु पर्छ ।
३) सघन उपचार कक्ष विस्तार गरी न्यूनतम ६० शैया पुर्याउनु पर्छ ।
४) वाल वालिकाको सघन उपचार कक्ष विस्तार गरी न्यूनतम २५ शैया पुर्याउनु पर्छ । प्रतिष्ठानको वार्षिक कार्य सूचि भित्र समावेश गरी धरान उप महानगर पालिकाका विपन्न र ग्रामीण ईलाकामा वार्षिक न्यूनतम २ निःशुल्क वटा मेघा हेल्थ क्याम्प सञ्चालन गर्नु पर्छ ।
५) लामो समय नगर पालिकाको संरक्षण र उपभोगमा रहेको छाता चौकमा रहेको जमिन उपमहानगर पालिका सँगको समन्वयमा दुई पक्षिय लाभका आधारमा उपयोग गरिनु पर्छ ।
६) खण्डहर अवस्थामा रहेको एमसिएच भवन अविलम्व निर्माण पूरा गरी सञ्चालनमा ल्याउनु पर्छ
७) लगत ईष्टिमेट भई सूचना निकालेर रद्द गरेको क्यान्सर अस्पताल र मुटु रोग अस्पताल विस्तार गर्ने कार्य अविलम्ब आरम्भ गरिनु पर्छ ।
८) अस्पतालको गुणस्तरीय सेवाका लागि आकस्मिक उपचार कक्ष अविलम्ब व्यवस्थित गरिनु पर्छ ।
९) विवादका कारण २ वर्ष देखि खरीद क्रममा रोकीएको एम आर आई मेसिनको विषय निरुपण गरी एम आर आई सेवा व्यवस्थित रुपमा सुचारु गर्नु पर्छ ।
१०) प्रतिष्ठानको विशेषज्ञ सेवालाई सामुदायिक प्रणाली अन्तर्गत प्रदेश भरी पुर्याउनु पर्छ ।
११) प्रतिष्ठान सञ्चालन ऐन र नियमावलि समयानुकुल संशोधन गरिनु पर्छ ।
१२) अव प्रतिष्ठानलाई समयको माग अनुकुल प्रतिष्ठित संस्थानका रुपमा स्थापित गर्न , गर्व गर्न लायकको स्वास्थ्य शैक्षिक संस्था, भरोसा योग्य अष्पतालको पहिचान वनाउन वर्तमानको अव्यवस्थाबाट अविलम्ब मुक्त गर्नु पर्छ ।