धरान: संघीय समाजवादी युवा फोरमका प्रदेश नं १ सह संयोजक तथा यलम्बर सालिक निर्माण समितिका चुलाचुली इलामका अध्यक्ष पुरन राईको दुर्घटनामा परी मृत्यु भएको छ ।

हिजो सोमबार साँझ मोटरसाइकलमा घर फर्कदै गरेका राई राती करिब ८ बजेतिर दमक ४ स्थित कृष्ण मन्दिर(ताराबारी)मा दुर्घटनामा परी उनको मृत्यु भएको हो । विपरीत दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार भएका पुरनको मृत्यु भएको हो ।

उनी धरानमा जारी किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनबाट फर्कदै गरेका थिए । महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक नभएपनि शुभेच्छुककोरुपमा सोमबार साँझसम्म महाधिवेशनको बन्दसत्रस्थल धरान ८ स्थित सभागृहस्थलमा रहेको अर्जुन जम्नेली राईले जानकारी दिए । 'उहाँ प्रतिनिधि, पर्यवेक्षक हुनुहुन्थेन, तर एक शुभेच्छुकको रुपमा हिजो साँझसम्म हामीसँगै यही हुनुहुन्थ्यो, फर्कने क्रममा दुःखद घटना भएको सुन्यौ,'जम्नेलीले भने,'उहाँ यायोक्खाको आजिवन सदस्य हुनुहुन्थ्यो।'

सोही दुर्घटनामा युवा फोरमका प्रदेश नं १ संयोजक रमेश तुम्रोक घाइते भएका छन् । उनको विराटनगरस्थित नोबल हस्पिटलमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकका सुचना डेस्कका प्रहरी हवल्दार देवीराज राईका अनुसार राई र तुम्रोक को ३० प ७७०० नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जादै थिए । उनीहरु सवार मोटरसाइकल पुर्वबाट पश्चिमतर्फ आउदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकलसँग जुधेको थियो । १८३२ नम्बरको मोटसाइकलमा सवार समिर धिमाल र सुजन धिमाल पनि घाइते भएका थ्एि । घाइतेमध्ये पछाडि सवार सुजन डिस्चार्ज भइसकेका छन् भने गम्भीर अवस्थाका समिरको उपचार विराटनगरमा नै भइरहेको हवल्दार राईले जानकारी दिए ।