सप्तरी:गएको शनिबार राती सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासाका एक युवा अपहरणकारीको पञ्जाबाट भाग्यले उम्किएका छन ।

स्थानीय जिया उल हकले बोदे बर्साइनमा रहेको पसल बन्द गरेर घर फर्कदै गर्दा राती अपहरणमा परेका थिए । उनलाई अपहरणकारीले हात बाँधेर कुटपिट गर्दै भारततर्फ लगिरहदा अपहरणकारीबाट उम्कन सफल भएका थिए । अपहरणबाट जोगिएका जिया उलको राजविराटस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनलाई स्थानीयहरुले उद्दार गरी उपचारको लागि त्यहाँ पुर्याएको हो ।

जियाउलले आइतबार आफ्ना दाजुमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरी परेपछि प्रहरीले केहीलाई पत्राउ गरी सोधपुछ गरिरहेको छ । प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार अनुसन्धानको क्रममा केहीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ भइरहेको छ ।

पीडित युवाका अनुसार उनलाई अपहरणकारीहरुले भारतर्फ लैजादै गरेको थियो । त्यसक्रममा भारतीय एसएसबीले सीमा नाकामा जाँच गर्दा हात बाँधेको देखेपछि अपहरणकारीले त्यही छोडेर भागेको उनले बताए । उनका अनुसार मोटरसाइकलमा घर आउदै गर्दा रञ्जितपुरमा आधा दर्जन जतिको समुहले रोकेर निर्घात कुटपिटसमेत गरेका थिए । कुटपिटबाट आफु बेहोस भएपछि उनलाई हात बाधेर भारत लैजादै गरेका थिए । ‘एसएसबीले भेटेर चेकजाँच नगरेको भए म त बच्थे कि बच्दिनथे,’उनले भने ।