इटहरी: चोरका पनि अनेक दाउ हुन्छन् । खसी चोरेर टेम्पोमा लैजादै गर्दा प्रहरीले तरहराबाट दुई जनालाई पक्राउ गरेको छ ।

आज सोमबार पौने २ बजेको समयमा धरानबाट को २ ह २२७ नम्बरको टेम्पोमा खसी चोरेर इटहरीतर्फ लैजादै गर्दा प्रहरी चौकी तरहराले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १५ बगरकोट बस्ने २१ बर्षीय अर्जुन बराईली र धरान ५ किसान चौक बस्ने बबिन शंकर रहेका छन् । उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुल बहादुर खत्रीले जानकारी दिए । ‘धरानको पानमाराबाट २ वटा खसी चोरेर ल्याउँदै रहेछन्,’ उनले भने,‘यहाँ पनि स्थानीयले जंगलमा चराउन लगेको खसी चोर्न लाग्दा हामीले पक्राउ गर्यौ ।’

हाँसपोसा सामूदायिक वन तरहराका वन हेरालु होम बहादुर निरौलाका अनुसार धरानबाट टेम्पो तीब्र गतिमा आएको र जंगलै जंगल तरहराको तामाङ टोल तिर गएको थियो । त्यसको केही समयपछि पुनः टेम्पो सोही बाटो आएकाले आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए । ‘मैले जंगलमा लुकेर हेरिराखेको थिएँ, दुईजनाले यहाँ चराउन ल्याएको खशीलाई टेम्पोबाट उत्रेर लेखेटेको देखे,’ उनले भने, ‘लखेटेको खसी म तिरै आएपछि उनीहरुले त्यो खसी टेम्पोमा हाल्न पाएनन्, अगाडि नै दुईवटा खसी चोरेर ल्याएका रहेछन् ।’उनका अनुसार तरहराको पानीपियास्थीत ड्राइभिङ सिक्ने ठाउँ नजिकैबाट स्थानीयले चराउन ल्याएको खसी बाख्रालाई घेरा हालेर पक्रन खोज्दै गरेको अवस्थामा आफूले प्रहरीलाई जानकारी गराएको र सोहीअनुसार प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थियो ।

तरहरा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान लाल बहादुर पाण्डे (राजन) का अनुसार चारकोशे झाडीमा स्थानीयले चौपाया चराउने स्रोत बनेका कारण दुर्घटना हुने र चोरीका घटना बढ्ने बताए । उनले कपुरीसँग भने, ‘यहाँ चौपाया चराउनाले चोरीका घटनादेखि बाटो काट्ने क्रममा दुर्घटना समेत हुने गरेको छ । चौपाया चराउन नदिनका लागि कडाई गरेमात्र यसको निराकारण सम्भव छ ।’ पछिल्लो समय टेम्पोको माध्यमबाट गाँजा, चरेश तस्करी तथा अन्य अनैतिक गतिबिधिमा संलग्न बढिरहेको छ उनको भनाई थियो ।