बिराटनगर: तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेपछि तत्काल उद्दार तथा खोजतलासमा आफ्नो ज्यानको पनि वास्ता नगरी खटिने ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत ३ जना प्रहरी फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी(बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

विभागीय मूल्यमान्यता,आदेश तथा निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ काम गरेको भन्दै उनीहरुलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन् । सर्वोत्कृष्ट घोषित हुनेहरुमा अस्थाई प्रहरी चौकी माथिल्लो फेदी ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी रहेका छन् ।

उनीहरुले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० स्थित सिस्ने भिरमा गत फागुन १५ गते करिब साढे १ बजेको समयमा तत्कालिन माननीय पर्यटन मन्त्री रविन्द्र अधिकारीसमेत सवार हेलिकप्टर दुर्घटना हुँदा आफ्नो ज्यानको पनि वास्ता नगरी उद्दार तथा खोजतलास गरेको भन्दै प्रदेश प्रहरीले उत्कृष्ट प्रहरीकोरुपमा पुरस्कृत गरेको हो । उक्त घटनास्थलमा उनीहरुले कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउ ज्यानको पर्वाह नगरी अति जोखिमपूर्ण अवस्थामा अटुट र अनवरत रुपमा प्रतिकुल भौगलिक अवस्था र मौसम भएर पनि बहादुरी तथा उच्च मनोवलका साथ उद्धार तथा खोजतलास एवं शव संकलन गर्ने कार्यमा खटिएर प्रशंसनीय कार्य गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

कार्यालयले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिन्छ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।