धरान(डेस्क): आइतबार राती बारा र पर्सामा हावाहुरीका कारण भएको क्षतिमा उद्दार र राहत वितरणको लागि प्रदेश नं २ सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बिहान बसेको प्रदेश मन्त्रीपरिषद बैठकले पीडित परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको थियो भने घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको थियो । सोही बैठकले ५ सदस्यीय उच्चस्तरीय उद्दार तथा राहतको लागि समिति पनि गठन गरेको हो । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीका अनुसार मन्त्रीपरिषद बैठकलले पीडितहरुको उद्दार र राहतको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त उच्चस्तरीय टोलीमा प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर शाह, पर्यटन ता वन मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुण झा रहेका छन् । बैठक पश्चात उच्चस्तरीय समिति हावाहुरीले क्षतिग्रस्त बनाएको क्षेत्रमा स्थलगत अवलोकनको लागि प्रस्थान गरिसकेको छ । उक्त टोलीले स्थलगत क्षेत्रमा अवलोकन तथा निरीक्षण गर्नुका साथै पीडितहरुसँग भेटघाट गर्नेछ भने क्षतिको विवरण पनि संकलन गर्नेछ । साथै, राहत र पुर्नस्थापनाको लागि आवश्यक व्यवस्था पनि मिलाउनेछ ।