धरान:इलाका प्रहरी कार्यालय धरानको हाताभित्र धराने जनताको लगानीमा नमुना हिरासत भवन निर्माण भइरहेको छ । जहाँ अभियोग अनुसार प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएकाहरुलाई छुट्टा छुट्टै राख्ने व्यवस्था हुनेछ ।

यो बाहेक पनि धरानको वडा नं १५ मा जनताको लगानीमा अर्को अस्थायी प्रहरी चौकी निर्माण भइरहेको छ । त्यो पनि पुर्ण जनताको सहयोगमा हो । यो चौकीको बिशेषता के हो भने यहाँ पनि थुनुवा कक्ष हुनेछ । महिला र पुरुषलाई छुट्टा छुट्टै राख्ने थुनुवा कक्षसहित अस्थायी प्रहरी चौकी निर्माण भइरहेको निर्माण समितिका संयोजक हिमाल दाहालले जानकारी दिए । यो भवन सम्भव भएसम्म बैशाखमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ ।

अध्यक्ष दाहालका अनुसार ती थुनुवा कक्षमा महिला र पुरुष १०/१० जना अट्ने क्षमता हुनेछ । ‘नमुना अस्थायी प्रहरी चौकी बनाउने हाम्रो लक्ष्य छ, अनुसन्धानको लागि समातेर ल्याएकाहरुलाई तत्काल इलाका र वडा प्रहरीमा पुर्याउन नसकेको अवस्थामा यही राख्ने भनेर महिला र पुरुषको अलग्गै थुनुवा कक्ष पनि बनाएका छौ,’अध्यक्ष दाहालले भने,‘८५ प्रतिशत काम सकिएको छ, यसमा गिरीधारी सापकोटा दाजुको ठुलो सहयोग भयो ।’

IMG_20190331_110912

यो नमुना प्रहरी चौकी वडा नं १५ को कार्यालय अघि रात्री बसपार्कसँगैको जग्गामा निर्माण भइरहेको छ । प्रहरी चौकी थुनुवा कक्षसँगै बाथरुम र ट्वाइलेट पनि हुनेछ । एउटा बैठक कोठा(कार्यालय), २ वटा बेडरुम र किचन पनि हुनेछ । करिब २७ लाख लागत अनुमान गरिएको थियो । तर, निर्माण गर्दै जादा ३० लाखको हाराहारीमा खर्च पुग्ने निर्माण समिति सदस्य एवं सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटाले बताए । ‘स्टिमेट गरेको भन्दा केही नयाँ काम पनि गर्नुपर्यो, जिप्सन पनि थपियो, त्यसैले खर्च बढी हुन्छ,’सापकोटाले भने ।

हाल अस्थायी प्रहरी चौकी वडा कार्यालयको एउटा साँघुरो कोठामा छ । जहाँ असईको कमाण्डमा ६ जना प्रहरी बस्छन् । यो चौकी निर्माण भएपछि सुरक्षामा खटिने प्रहरीलाई राहत मिल्नेछ । अहिलेसम्म २५ लाख बढी खर्च भैसकेको छ । यो सबै जनसहयोगबाट हो । धरान उपमहानगरले २ लाख र प्रदेश सरकारबाट १० लाख सहयोगको आश्वासन छ, तर निकासा भइसकेको छैन ।

wada-15