सुनसरी: सुनसरीको नरसिंङ भोक्राह गाँउपालिका ८ मा गोली चलेको छ ।

गोली लागेर सोही स्थानका २६ बर्षीय जबुल मन्सुरी घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरी र जबुलबीच विवादमा पेस्तोल खोसाखोस भएको र उनले प्रहरीको पेस्तोल खोसेर गोली चलाउदा उनी पनि घाइते भएको बताइएको छ । यद्यपी, घटनाबारे विस्तृत जानकारी आएको छैन । घटनामा एक प्रहरी पनि घाइते घाइते भएको बताइए पनि वीपी प्रतिष्ठानमा मन्सुरीलाई मात्र उपचारमा ल्याइएको छ । 'गोली चलेको भनेर ल्याएको छ, घटना के भएको हो भन्ने खुल्न बाँकी छ,'बीपीको आकस्मिक कक्षस्थित प्रहरी विटका एक प्रहरीले भने ।

भारतबाट तस्करीको सामान ल्याउदा रोक्ने क्रममा विवाद भएर करिब २ घण्टा अघि गोली चलेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले प्रहरी र तस्करीको सामान ल्याउनेबीचमा विवाद भएर घटना भएको प्रारम्भिक जानकारी पाएको बताए । विस्तृत जानकारी पाउन समय लाग्ने उनले बताए । प्रजिअ उप्रेतीका अनुसार तस्करीको सामान बढी आउने गरेको सुचनाको आधारमा सिभिलमा प्रहरी त्यसक्षेत्रमा खटिएका थिए । तिनै प्रहरीले सामान रोक्दा घटना भएको प्रजिअ उप्रेतीले बताए ।
प्रहरीले सामान रोकेपछि विवाद शुरु हुदा गाउँलेहरुले सिभिलमा भएको प्रहरीलाई घेरा हालेर नियन्त्रणमा राखेका थिए । अवस्था तनावपुर्ण बनेको थियो । 'अहिले भिडबाट प्रहरीहरु निस्किसकेको थाह पाएको छुँ,'प्रजिअ उप्रेतीले भने ।