धरान: दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेला आज शनिबारदेखि प्राचीन हरिद्धारले प्रसिद्ध बराहक्षेत्र नगरपालिकास्थित चतराधाममा शुरु हुदैछ । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज चतराधाम आउदैछन् ।

कुम्भ मेला आयोजना गर्न नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको संयोजकत्वमा मुल आयोजक समिति बनेको छ । मेलालाई सहयोग गर्न प्रदेश सरकारले पनि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई संयोजक तोकेको छ । यस्तै, प्रदेश सरकारले मेला आयोजनामा सहयोग गर्न सम्पर्क कार्यालय पनि चतराधाममा खोलिसकेको छ । साथै, सरकारले कुम्भ मेलालाई ५० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ भने सम्पुर्ण तयारीको व्यवस्थापन पनि गरिदिने भएको छ । कुम्भ मेला अघि हिजो शुक्रबार धरानको पिण्डेश्वर महादेवको मन्दिरमा अर्धरुद्रभिषेक तथा स्तोत्र पाठ गरिएको थियो भने कुम्भ घडा कलश शोभा यात्रा निकालिएको थियो ।

कुम्भ मेलाको महत्व

IMG_3532

कुम्भ मेला अमृतको थोपा खसेको विश्वास गरिएका भारतको चार स्थानमा भव्यरुपमा लाग्छ । नासिक, उजैन, प्रयाग र हरिद्धारमा कुम्भ मेला प्रत्येक १२ बर्षमा भव्यरुपमा लाग्दै आएको छ । विश्वभरका हिन्दु धर्मावलम्बीहरु त्यसबेला भारतको कुम्भस्थलमा गएर स्नान गर्छन् । नेपालमा भने २०५९ सालदेखि मात्र कुम्भ आयोजना शुरुवात भएको हो । यो विश्वमा लाग्ने पाँचौ कुम्भ मेला हो । चतराधाममा रहेका नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले यसको शुरुवात गरेका हुन् ।

देवताहरुले अमृत पिएपछि बाँकी रहेको छोक्रा एवं तरबाट पिण्ड आकारमा महादेव(शिवलिंग)स्थापना गरिएकोले पिण्डेश्वर कुम्भको महत्व तथा महिमा सबैभन्दा बढी भएको जगतगुरु बालसन्तको तर्क छ । कुम्भमा आएका भक्तजनहरु कौशिकी नदीमा स्नान गरेर बराह भगवानको दर्शन गर्ने र पिण्डेश्वर महादेवको दर्शन तथा पुजा गर्नाले पाप पखालिने र पुष्य प्राप्ति हुने विश्वास गरिन्छ ।

kumva-pindes

‘कौशीकी नदीमा स्नान गर्ने र बराह भगवान अनि पिण्डेश्वर महादेवको दर्शन तथा पुजाआराधाना गर्नुपर्छ । मानव जगतको कल्याण हुन्छ । मेची महाकालीबाट मात्र होइन, भारत, अष्ट्रेलिया, अमेरिकय सबैतिरबाट लाखौं भक्तजनहरु कुम्भ स्नान गर्न आउनेछन्,’उनले भने । बालसन्तको पहलमा २०५९ सालमा प्रथम पिण्डेश्वर पुर्ण कुम्भमेला आयोजना भएको थियो भने २०६३ मा अर्धकुम्भ मेला भएको थियो । यस्तै, २०७० चैतमा पनि एक महिना दोस्रो पिण्डेश्वर पुर्णकुम्भ मेला आयोजना भएको थियो भने आज चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म दोस्रो अर्धकुम्भ मेला आयोजना हुदैछ ।