झापा: आजविहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् ।

चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । यस्तै, मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घाइते दुवैको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहान करिब ८ बजे खेतमा काम गरिरहेको बेला तीनै जनालाई चट्याङले लागेको थियो । गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि ओमसाई अस्पताल लगिएको थियो । उपचारको क्रममा नै राउतको प्रकाशको मृत्यु भएको प्रहरीको भनाई छ । आज बिहानैदेखि राजधानीसहित देशको विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा भइरहेको छ । अझै मौषम अझै यस्तै रहने भन्दै जल तथा मौषम पुर्वानुमान महाशाखाले सबैलाई सचेत रहन पनि आग्रह गरेको छ ।