उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ बबला भन्ने स्थानमा मंगलवार राती बर्षा, हावाहुरी संगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ भने परिवारका अन्य ७ जना घाइते भएका छन् ।
राती ८ बजे वर्षा संगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चट्याङको झट्काले १२ दिनकी नाबालिका सहित एकै परिवारका बाबु ३८ बर्षीय कृष्ण बहादुर थापा मगर, १२ वर्षीय सुनिता, १० वर्षीय अनिता, ८ वर्षीय गीता, ७ वर्षीय खीला र ५ वर्षीय कुल बहादुर थापामगर घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी मंगलवार राती साढे १० बजेको समयमा बर्षासंगै आएको हावहुरीबाट त्रियुगा नगरपालिका २ जोगिदह बस्ने ध्रुब परियारको काठले बनेको टिनको छानो भएको १ तले घरको छानो उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ, सोही नगरपालिका ३ चाँप भन्ने स्थानमा बस्ने कोकाई दास चौधरीको काठको सेन्ट्रीबेरा भएको टिनको छानो, लत्ता कपडा, अन्नपात समेतमा क्षति र्पुयाउँदा अन्दाजी २ लाख २५ हजार, हातीमारा टोल बस्ने उर्मिला मल्लिकको १ तले घरको टिनको छानो उडाउँदा अन्दाजी ७५ हजार, सोही ठाउँको बसपार्कमा शहरी विकास कार्यालयको भवनको छानो उडाउँदा अन्दाजी ३ लाख, सोही नगरपालिका ८ उतराई टोल बस्ने रामकृष्ण चौधरीको ईट्टाको गाह्रो भएको १ तले घरको टिनको छानो र खाद्यान्न सहित अन्दाजी ५५ हजार र सबिना चौधरीको ईट्टाको गाह्रो भएको १ तले घरको टिनको छानो, १५ मन धान, ५० किलो चामल सहित अन्दाजी ५५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।