झापा: इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानुनी हिरासतमा राखिएका एक बालको बैशाख २ गते रहस्यमय मृत्यु भएको घटनामा झापाका दलीत अधिकारकर्मीहरु आन्दोलित भएका छन् ।

घटना सञ्चारमाध्यमबाट सार्वजनिक भएको र अधिकारकर्मीहरु पनि आन्दोलित बनेपछि जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे छानबिन थालेको छ । जिल्ला प्रहरीका अनुसार डिएसपी महेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा तीन समिति छानविन समिति गठन गरेर घटनाको छानबिन शुरु गरेको हो । चैत्र २८ गते मोवाइल चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको मेचीनगर–६ का १५ वर्षीय किरण कार्की ढोलीको हिरासतमै बैशाख २ गते विहान २ बजे मृत्यु भएको थियो । हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले दाबी गरेपनि घटना भने रहस्यमय तथा शंकास्पद छ । दलित अधिकारकर्मीहरुले बालकको प्रहरीबाट चरम यातना पाएर मृत्यु भएको आरोप लगाएको छ । साथै, घटना दबाउन प्रहरी सक्रिय रहेको आरोप लगाएका छन् ।

प्रहरीले घटनालाई लुकाउन खाजेको भन्दै मानवअधिकारकर्मी टिकाराम मंग्रान्तीले आफूहरुको गम्भीर ध्यानकाषर्ण भएको बताएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुवास खड्काले हिरासतमा झुण्डिएको भनिएका कार्की ढोलीको शव परिवार र आफन्तलाई समेत थाहा नदिइ सोही रातको ३ बजे पोष्टमाटम गर्न भन्दै मेची अञ्चल अस्पताल पु¥याएको परिवारको दाबी छ । कानुनीरुपमा १८ वर्ष मुनिका बालबालिकालाई अन्य अभियुक्त राख्ने हिरासतमा राखेर अनुसन्धान गर्न नपाइने प्रावधान रहेको मानव अधिकारकर्मी तथा मानब अधिकार सञ्जाल झापाका अध्यक्ष बिष्णु खरेलले बताए ।

ती बालक प्रहरी हिरासतमा छ भन्ने परिवारलाई पनि जानकारी नभएको बताइएको छ । प्रहरीले बिहान ११ बजेमात्रै मृतकका बाबुलाई छोराले आत्महत्या गरेकोले अञ्चल अस्पताल गएर लास बुझन भनेको उनका बुवा रमेश कार्की ढोलीले बताए । उनले भने ‘काँकरभिट्टाबाट बिर्तामोड आउन्जेल केही भनेनन् । इलाकामा ल्याएर फ्रुटी खुवाए, अनि तपाईको छोराले आत्मा हत्या गर्यो भने ।’ छोराको मृत्युको खबरले केहि कुरा सोच्न नसेकोको र प्रहरीले केहि नसुनाई मुचुल्कामा सहि गराएको उनले बताए ।

प्रहरीले हिरासतमा घटना भएको भन्दैै कानुन बमोजिम सबै प्रकिया पूरा गरेर नै मृतकका आफन्तलाई शव जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कसैले आत्महत्या गरेमा घटना प्रकृति मुचुल्का गर्नुपर्ने र त्यसमा परिवारका सदस्यलाई समेत साक्षी राख्नुपर्नेमा भएपनि प्रहरीले बाबुलाई समेत जानकारी नदिई रातारात घटना गुपचुप गराउने गतिविधि गरेपछि अनेक आशंका उत्पन्न भएको छ । प्रहरीले जिन्सको पेन्टको पासो लगाई आत्महत्या गरेको दाबी गरेको छ ।

किरणलाई प्रहरीले सुरुमा किन भारतीय घोषित गर्दै उमेर बढायो ?

mritak-balak

मोबाइल र पैसा चोरेको आरोपमा पक्राउ परेका किरणको मुद्दालाई नै अहिले प्रहरीले बदलेको छ । जिल्ला प्रहरी कार्यालयले उनी चोरीमा नभई अभद्र व्यवहारको आरोपमा पक्राउ परेको सूचना सञ्चारकर्मीलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले किरणको घर मेचीपारि भारतको पानीट्यांकी भएको र उमेर १९ वर्ष भएको डिएसपी श्रेष्ठले पठाएको सूचनामा उल्लेख छ । बिर्तामोड प्रहरीका डिएसपी सुवास खड्का भने किरणले पासो लगाएर आत्महत्या गरेको र अरू विषय बोल्न नमिल्ने भन्दै जिप्रकामा सोध्न भन्छन् ।

प्रहरीले घटनाबारे सुरुमा किन जानकारी गराउन चाहेन ?

यस्ता घटनाका विषयमा प्रहरीले सधैँ स्थानीय सञ्चारकर्मीलाई इमेलमार्फत तत्काल जानकारी गराउँथ्यो । तर, किरणको मृत्युको घटना सार्वजनिक नै गरेन । पीडित परिवारबाट घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीले जवाफ माग्दा बिर्तामोड प्रहरीका डिएसपी सुवास खड्काले सुरुमा अनभिज्ञता जनाए । घटना लुकाउन खोजेको भन्दै प्रश्न उठाएपछि मात्रै उनले किरणले सर्टको पासो लगाएर आत्महत्या गरेको जवाफ दिए । सुरुमा घटनाको जानकारी नदिनु, बिर्तामोड प्रहरी अहिले पनि पन्छिन खोज्नु र जिल्ला प्रहरीले तथ्य बदलेर सूचना दिनु शंकास्पद छ ।