धरान(डेस्क):उत्तरी मोरङ क्षेत्रमा सक्रिय पत्रकार हरि कोइराला र तेजन खड्का आइतबार दिउँसो करिब अढाई बजे समाचार संकलनको क्रममा उर्लाबारी नगरपालिकाको पशुपंक्षी शाखामा पुगेका थिए । पत्रकारद्धय शाखामा प्रवेश गर्दा अचम्मको दृष्य देखियो ।

शाखा प्रमुख श्यामानन्द यादव मस्त निन्द्रामा थिए । उनीहरुले यसो झकाएको मात्र होला भन्ने सोचे । तर, नजिकै पुग्दासमेत यादवले सुइको पाएनन् । अनि, पत्रकारद्धयले बुझे, कि उनी मस्त निन्द्रमा छन् । पत्रकार कोइरालाका अनुसार झण्डै ३ मिनेटसम्म उनीहरुले चाल दिदा पनि यादव उठेनन् । त्यसपछि, उनीहरुले यादव गहिरो निन्द्रमा भएको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे । 'म र तेजन खड्का गएका रिपोर्टिङ गर्न गएका थियौ, शाखा प्रमुख त मस्त निन्द्रामा थिए । हामीले त झकाएको मात्र होला भन्ने ठान्यौ, तर होइन रहेछ,'पत्रकार कोइरालाले भने,'हामीले नै उठाउनु पर्यो ।'

शाखा प्रमुख यादवले भने आज किसानहरु धेरै आएकोले कामको चाप भएर टाउको दुखेको र एक छिन आराम मात्र गरेको प्रतिक्रिया दिए । उनले भने,'आज किसानहरु थुप्रै आउनुभयो । माइक्रोस्कोपमा गोबर टेष्ट गर्नुपर्दा टाउको पनि दुख्यो, र एकछिन आराम गरेको थिए, उहाँहरु आइपुगिहाल्नुभयो । म सुतेकै चै होइन ।' 

तस्बिर स्रोत: हरि कोइराला