इटहरी:इटहरीमा चालु आर्थिक बर्षको १० महिनामा ७९ वटा चोरीको घटना भएको छ भने ७७ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीको अनुसार पक्राउ परेका मध्ये २२ जना पूर्पक्षमा जेल चलान भएका छन् । अन्य ५२ जना धरौटीमा रिहा भएका छन् भने एक जना अभियुक्त सामान्य तारेखमा छुटेका छन् । चोरी गर्नेमा बालबालिका पनि रहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) समीरचन्द्र खरेलले जानकारी दिए । उनका अनुसार २२ जना सडक बालबालिका चोरीको आरोपमा पक्राउ परेको भएपनि कम उमेर भएकोले उनीहरु कानुनी कारबाही गर्न अफ्ठ्यारो छ ।

एक जना अभियुक्त नाबालक रहेकोले बिराटनगरमा रहेको सुधारगृहमा राखिएको उनले बताए । अन्य ११ जनामा पनि थप अनुसन्धान भइरहेको डिएसपी खरेलले जानकारी दिए । ‘इटहरीमा सडक बालबालिका कति छन् भनेर यकिन तथ्याङ्क नरहेपनि यहाँ स्थायी रुपमा ७ जना सडक बालबालिका बस्दै आएको पाइयो,’ उनले भने,‘उनीहरुको उमेर नपुगेका कारण हामीहरु कारबाही गर्न सकिरहेका छैनौँ ।’

खरेलका अनुसार ७ जना सडक बालबालिका मात्र भए पनि कहिलेकाँही दर्जन बढी हुने गरेका छन् । सडक बालबालिकाहरुलाई दीर्घकालिनरुपमा व्यवस्थापन गर्न सम्बन्धित निकायले गम्भीर भएर कदम चाल्नुपर्ने प्रहरीको भनाई छ । समयमा नै व्यवस्थापन नगरे भविष्यमा गम्भीर प्रकृतिका अपराधमा ती सडक बालबालिकाहरु संलग्न हुने डिएसपी खरेलले बताए । ‘इटहरीमा ९ देखि १६ बर्षसम्मका सडक बालबालिकाहरु छन्, जसको घर ठेगान नै छैन । तर, केही बालबालिकाको घर भएर पनि यहाँ चाोरी र लागुऔषधको दुव्र्यसनीमा फस्दै गएका छन्,’उनले भने । बालबालिकाहरु चोरीसँगै लागुऔषधमा समेत फस्दै गएकोले समयमा नै सबै सजग हुन जरुरी छ ।

गर्मी याम लागेकोले चोरीका घटना बृद्धि हुनेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ । गर्मी समयमा झ्याल ढोका खुल्लै राखेर सुत्ने हुँदा चोरलाई मोबाईल, पर्स, मोटरसाईकल तथा अन्य घरायसी सामाग्री चोरी गर्न सजिलो हुने गर्छ । त्यसैले राती सुत्दा पनि बिशेष ध्यान दिन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।