सुनसरी: एक साताअघि आफ्नै डेराअघि निर्वस्त्र मृत फेला परेकी मोरङको पथरीशनिश्चरे नगरपालिका १ की २९ वर्षिया रिना(रुपा) बस्नेतको आइतबार अन्त्येष्टी गरिएको छ ।

मृतक बस्नेतको शवलाई आइतबार सुनसरीको चतराघाटमा लगेर आफन्तजनहरुले अन्तिम दाहसंस्कार गरेका हुन् । नौ दिनअघि बस्नेतको शव नग्न अवस्थामा भेटिएपछि स्थानीयबासीले उनको बलात्कार गरी हत्या गरेको आशंका गर्दै आएका थिए । तर, प्रहरी अनुसन्धान र पोष्टमार्टमबाट भने उनको बलात्कार र हत्या भएको देखिएन । प्रहरीले घटनाको गम्भीरर अनुसन्धान नगरेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए ।

रिनाको शव बैशाख ७ गते शनिबार विहान निर्वस्त्र फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट उनको कपडा आफ्नै कोठामा भेटिएको थियो भने राती कन्सर्ट हेरेर छोरासँग डेरामा आएर सुतेको पनि खुलेको थियो । साथै उनले मदिरा पिएको र डेरामा आउदा पनि वियर लिएर आएको छोरासँगको वयानबाट खुलेको थियो ।करिब ११ बर्षीय छोरासँग डेरामा बस्ने रिनालाई बलात्कार गरी हत्या गरेको कुनै पनि क्लु प्रहरी अनुसन्धानबाट खुल्न सकेन । प्रहरीले माथिबाट खसेर रिनाको मृत्यु भएको हुनसक्ने अनुमान गर्दै अएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोष्टमार्टम रिपोर्टले पनि माथिबाट बजारिदा लागेको चोटले रिनाको मृत्यु भएको उल्लेख गरेको थियो । स्थानीयबासीले भने संघर्ष समिति गठन गरेर आन्दोलन चर्काएका थिए । त्यसक्रममा पथरी तनावग्रस्त बनेको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपर्दा ५ जना घाइते पनि भएका थिए । व्यापक जनदबावपछि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बगजाईलाई हटाएर नयाँ प्रहरी निरीक्षक पठाइसकिएको छ भने घटनाको अनुसन्धान गर्न डिएसपी पथरी गएका छन् । स्थानीयबासी र स्थानीय सरकारले पनि पथरीमा डिएसपीको दरबन्दी माग गरिरहेका छन् ।