धरान : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । घटनाको पुष्टि गर्दै गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले आफू पनि घटनास्थलमै रहेको बताइन ।

उनले भनिन्, ‘म फिदिमका लागि हिँडेकी थिएँ । बाटोमा घटनाका बारेमा जानकारी पाएँ । अहिले हामि घटना स्थलमै छौं । कसरी यस्तो घटना भयो भन्ने केही थाहा छैन् ।’ मिक्लाजुङ गाउँपालिका ३ को आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ ।