पथरी: वर्षा लागे पछि पथरीशनिश्चरे २ कसेनीका चन्द्रवहादुर लिम्वुलाई आकाशबाट पर्ने पानीको चिन्ताले निन्द्रा लाग्दैन । आकाशमा गड्यगुडुङ्ग गर्न थालेपछि उनको परिवार त्रासमा हुन्छ ।

नजिकैको वक्राहा खोला छ । त्यहाँ आउने बाढीले कतिबेला बगाउने हो भन्ने चिन्ता छाउथ्यो । वषौंदेखि झुपडीको घरमामा बास बसेका उनीहरुको टाटीको बार पनि भरपर्दो थिएन । बर्खामा पानी र घाम लाग्दा घाम नै छिर्ने भएपछि थप समस्यामा थिए । वैशाख जेठमा आउने हुन्डरी त झन उनीहरुका लागि त्रासदीपुर्ण थियो । यो परिवारको पीडा अब भने चाडै अन्त्य हुनेछ । उनीहरुको अवस्थाबारे नजिकबाट बुझेका वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाइमा नयाँ घर निर्माणका लागि पहल थालिएको छ । वाँसको खम्वा र खरको छानो भएको भएको लिम्बू परिवारको घरको वदलामा चाडै नयाँ वलियो घर हुनेछ ।

आर्थिक समस्यमा रहेको सो परिवारलाई स्थानीयले सहयोग जुटाएर घर बनाइदिने भएका छन् ।नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले घरको शिलान्यास गर्दै नगरमा भएका विपन्नका लागि नगरले सहयोग पुर्याउने बताइन् । उनले सो घरमा टिनको छानो लगाउनका लागि आफ्नो पहलमा नगरपालिकामार्फत १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरिन् ।

यो घर निर्माण गर्न सहयोगी हातहरु समेत जुटन थालेका छन् । वडाध्यक्ष यामप्रसाद गुरागाईं, चौतारी सामुदायिक वन समिति अध्यक्ष मेघराज चापागाईं लगायतले सहयोग गर्ने वताए । १५ धुर ऐलानी जग्गामा झुप्रे घर रहेका लिम्बूले ज्याला मजदुरी गरेर २ सन्तान र आफु रहेको ३ जनाको परिवार जेनतेन धान्दै आएका छन् । दयनीय अवस्था देखेर कर्णध्वज लिम्बूको संयोजकत्वमा घर निर्माण समिति गठन गरी अभियान अघि बढाइएको छ ।

स्थानीय जितेन्द्र लिम्बूले सिमेन्ट १० बोरा, हर्कबहादुर लिम्बूले २ बोरा, प्रेमकुमार देवान २ बोरा तथा राजकुमार लिम्बू, शेरबहादुर लिम्बू, विजय लिम्बू, रुकमान लिम्बू र खडानन्द न्यौपानेले १,१ हजार रुपैयाँ सहयोग गरेपछि लिम्वुको घर वन्न सजिलो वनेको हो । यसका साथै लालबहादुर सोडारी, शेरबहादुर लिम्बू सहितका मिस्त्रीले निःशुल्क श्रम खर्चिएका छन् । चौतारी सामुदायिक वनले आवश्यक काठ निःशुल्क उपलब्ध गरेपछि वर्षै देखी हावा पानी र घाम व्योहोरेको लिम्वु परिवारले नयाँ घर प्राप्त गर्ने छ ।