धरान: लघुबित्तका कर्मचारीमाथि गोली प्रहार भएपछि घटनाबारे विस्तृत जानकारी लिन जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख तथा एसपी राजन अधिकारी धरान आएका छन् ।

घटना भएको खबर पाउनासाथ उनी धरान आएका हुन् । इनरुवाबाट धरान आएका उनी सिधै घाइतेलाई भेट्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका थिए । घाइतेसँग घटनाबारे जानकारी लिएका उनले विस्तृत जानकारी आउन बाँकी रहेको सञ्चारकर्मीहरुसँग बताए । घटनालगत्तै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने भने घटनास्थलतर्फ गएका थिए । घटनास्थल धरानको पहाडी क्षेत्र भएकोले फोनसम्पर्क नहुदा पनि यथार्थ विवरण तत्काल आउन सकेको थिएन ।

आज मध्याह्न करिब १२ बजे जीवन विकास लघुबित्त बित्तिय संस्थाका कर्मचारी ३५ बर्षीय शम्भुप्रसाद गच्छदारमाथि धरानको वडा नं ५ साउनेटारमा गोली प्रहार गरी उनीसँग भएको नगद लुटिएको थियो । ३ जनाको समुहमा आएको लुटेराहरुले उनको मोटरसाइकल रोकेर गोली प्रहार गरेका थिए । गच्छदारको देब्रे कम्मरको माथि र देब्रे हातको पाखुरामा गोली लागेको छ । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी खतरामुक्त छन् । लुटेराको समुहले उनको साथमा भएको करिब ४ लाख नगद लुटेको बताइएको छ ।