पथरी:दक्षिणी मोरङ्गको रंगेलीका किसानले विचौलियाका कारण धानको मुल्य नपाएको गुनासो गरेका छन् ।

भारतीय बजारमा धानको मुल्य कम हुदा यस क्षेत्रका किसानले धानको उचित मुल्य नपाएका हुन् । हिउँदे वालीका रुपमा लगाइएको धान उठाउने वेलामा पनि धानले भाउ नपाउदा समस्या भएको उनीहरुको भनाइ रहेको छ । चैत्र महिनामा लगाइएको धान काटन व्यास्त रहेका उनीहरुले धान भण्डार गर्न समस्या रहेको र बिक्री गर्न पनि भाउ नपाएको बताएका हुन् । गत वर्ष भन्दा धानको मुल्यमा आधा भन्दा कम गिरावट आएको स्थानिय किसान सुरेन्द्र कुमार मण्डल वताउँछन् । धानको वास्तविक मुल्य पनि विचौलियाहरुले लुकाएर कृषकहरुलाई ठगी रहेको मण्डल वताउँछन् ।

धानको मुल्य प्रति क्विन्टल १४ सय रहेको तर धान उत्पादन गर्दा लागेको खर्च पनि नपुग्ने उनीहरुको भनाइ छ । स्थानिय किसान राम शंकर साह भन्छन्,‘लगानी अनुसारको प्रतिफल नै छैन् । लागत वडी भएपछि हामी मारमा परेका छौ ।’ मौषममा आएको खरावी, कामदारको अभावबीच उत्पादन गरेको धानले उचित मुल्य नपाउदा किसानमा निराशा छाएको छ । ‘सरकारले किसानको समस्यालाई सम्बोधन गर्ला भनेर आश गरेका किसान निराश हुन बाध्य छन,’साहको भनाइ थियो । नगरपालिकाले स्थानीय किसानलाई दिइने राहत र अनुदान समेत नदिएको उनीहरुको भनाइ रहेको छ ।

रंगेली नगरपालिकाले यसवर्ष कृषिका लागि कृषि चुन वितरणका लागि ४५ हजार र कृषक पाठशाला सञ्चालनका लागि २ लाख रुपैँया विनियोजन गरेको छ । नगर बाहेक केही वडाहरुले पनि कृषिमा रकम विनियोजन गरेका छन् । विचौलियाहरुले किसानको घरमा सस्तोमा धान उठाउने र महंगोमा बिक्रि गर्ने गरेको पाइएको छ । काँटावालाले भन्दा पनि धानको भाउ राइस मिलले निर्धारण गर्ने गरेको काँटावालहरु आफै वताएछन् ।

IMG_1712

नेपालमा धान उत्पादनको मुख्य मोरङ, झापा र सुनसरी हुन् । यस मध्ये पनि मोरङको यस क्षेत्रमा प्रति विगाहा १ सय मन देखि १ सय २० मन सम्म धान उत्पादन हुने गरेको किसानहरु बताउछन् । पहिले जन लगाएर धानबाली उठाउने किसानले अहिले मेसिनको प्रयोग गरेर धान उठाइरहेका छन् । धान काटने मेशिनको पैसा तिर्न समेत समस्या भएको उनीहरुको भनाइ छ । धानको उत्पादन वडाउने मलखादको समस्या समेत किसानले झेल्दै आएको छ । नेपाल सरकारले वितरण गर्ने मलखाद नपाउने उनीहरु भारतिय वजारका मलखादमा निर्भर रहनु परेको वताउँछन् ।

सुनवर्षी ९ डायनियामा रहेको डि.के टे«डर्स एण्ड सप्लायर्सका संचालक धर्मेश कुमार सिंह बिचौलियाले धानको भाउ निर्धारण गर्ने गरेको बताउछन् । यस क्षेत्रका किसानले उचित मूल्य नपाएर धान बिक्री गर्न सकिरहेका छैनन् । धानको मूल्य तोकिएर मात्रै पनि त्यसको समस्या समाधान हुने देखिदैँन । स्थानीय तहले सक्दो लगानी गर्नुपर्छ । धानको मुल्य नपाएका किसानको घरमै धान कुहाउने अवस्था भएको छ । यहाँका व्यापारीहरुले भारतबाट धान खरिद गर्ने र नेपाल बेच्ने गरेकाले पनि किसानको धानको मुल्य कम भएको हो । रंगेली नगरपालिकाकी उपप्रमुख केशव कुमारी खरालका अनुसार नगरको लगानी विकास निर्माणमा वढि केन्द्रित भएका कारण कृषी क्षेत्र पछि परेको हो । खरालले भनिन्,‘किसानको कुरामा म पनि सहमत छु, हामीले लगानी बढी मात्रामा कृषिमा गर्नु पर्ने हो तर विकास निर्माणलाई पहिलो प्राथमिकता दिएका छौँ ।’