धरान: घरको कम्पाउण्डबाट नै मोटरसाइकल चोरी गरेर लैजादै गर्दा धरानबाट एक पक्राउ परेका छन् ।

तीन दिनअघि राती करिब साढे १० बजे धरान १५ स्थित ज्ञानचक्षु मार्गका २३ बर्षीय डेविस साहको मोटरसाइकल चोरी गरेर लैजादै गर्दा चोर पक्राउ परेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ४ जमटोकीका १९ बर्षीय अनिश चौधरी रहेका छन् । चौधरीले साहको को ९ प २४७७ को १५० सिसि पल्सर मोटरसाईकल डोराउदै लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

मोटरसाइकल चोरी भएको तत्काल जानकारी पाएपछि खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित नै चौधरीलाई पक्राउ गर्न सफल भएको थियो । उनलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।