धरान : गतवर्ष धरान १३ की रमा योञ्जनले कृर्षि बजारमा पुगेरै ६ कार्टुन आँप खरीद गरेकी थिइन् । तर,यसपटक उनले आँप किनिनन् । यसको कारण हो, मुल्य महंगिनु । ‘साह्रै महंगो भयो, पोहोर साल ४० रुपैया केजीले किनेको आँप, यसपाली डेढ सय पुगेको छ,’उनले भनिन् ।

धरान–१६ का राजन श्रेष्ठले पनि आँपको भाउ यसपटक धेरै महंगो भएको बताए । आँपको भाउ चर्को हुँदा उपभोक्तालाई खरीद गर्न मात्र हैन, व्यापारीहरुलाई बिक्री गर्न गाह्रो छ । खुद्रा व्यापारी अम्बिका घिमिरेले गत सालको तुलनामा आँपको मुल्य धेरै महंगो हुदा कारोबार नै प्रभावित भएको बताइन् । ‘महंगो आँप भन्दै ग्राहकले किन्न मान्दैनन्, दिनमा ५ केजी पनि विक्दैन,’उनले भनिन्,‘पोहोर सय रुपैयाँको तीन केजीसम्म बेचेको थिँए ।’

बजारमा अहिले आँपको खुद्रा मुल्य प्रतिकेजी १ सय ४० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म छ । बजारमा अहिले मालदह आँपको मुख्य सिजन हो । अम्बिका भन्छिन्,‘यस पटक आँप त्यती फलेन, त्यसैले महंगो छ, हामीले पनि मुस्किलले थोकबाट खरिद गरेर ल्याउनु परेको छ ।’ अर्का खुद्रा व्यापारी सुशिला खनालले आफुहरुले थोकमा नै महंगो मुल्य हालेर ल्याउनु परेको सुनाइन् । उनी भन्छिन् ‘हामीलाई खुद्रामा नै महंगो छ त्यही अनुसार बेच्नुपर्छ ।’

आँपको थोक मुल्य ९० रुपैयाँदेखि १ सय १० रुपैयाँसम्म छ । थोक व्यापारी जितेन्द्र चौधरीले यसपटक आँपको व्यापार राम्रो नभएको बताए । ‘मैले ५–७ ट्रक (मिनी ट्रक) मात्र बेँचे,’उनले भने,‘पोहोर साल यो बेला ५०–६० ट्रक (मिनी ट्रक) कारोबार भएको थियो ।’ उनले आर्थिक कारोबारको हिसाबले गत साल जस्तै भएपनि मात्राको हिसाबले कारोबार न्यून भएको बताए । उनले थोकमा आँपको मुल्य प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा खरिद विक्री भएको सुनाए । ‘पश्चिममा आँप कम फल्दा यस पटक आँप बेलैमा सकिन लागेकोले भाउ पनि महंगो भएको हो,’उनले थपे ।

mangoo

धरानस्थित कृषि उपज बजार स्थलको तथ्याङक अनुसार यसपटक आँप २ हजार ५ सय मेट्रिक टन मात्र कारोबार भएको छ । बजार व्यावस्थापक लक्ष्मण भट्टराईले आँप ५० प्रतिशत मात्र कारोबार भएको बताए । ‘गत वर्षको तुलनामा हेर्ने हो भने आँप ५० प्रतिशत मात्र कारोबार भएको अवस्था छ,’बजार व्यावस्थापक भट्टराईले भने,‘आँपको यो मम्ध्य सिजन हो, तर नेपालमा आँप यसपटक फलेन त्यसैले कारोबार न्यून छ ।’ उत्पादनको हिसाबले कारोबार कम भएपनि मुल्यको हिसाबले उस्तै देखिएको उनको भनाई थियो । ‘आँप कम उत्पादन भयो, त्यसैले कम कारोबार भयो,’उनले भने,‘तर, कम उत्पादन भएपनि मुल्य बढेकोले मुल्य हिसाबले गत सालको जस्तै भयो ।’

उनले भारतबाट १० प्रतिशत आँप भित्रिएको बताए । ‘भारतीय आँप १० प्रतिशत भित्रीयो,’उनले भने,‘भारतीय आँप नआएको भए बजारमा बेलैमा आँप सकिन्थ्यो ।’ यसपटक आँपको उत्पादन त्यसै पनि कम भएको अवस्थामा तराइमा हावाहुरीको कारणले पनि आँपलाई धेरै क्षती पु¥याएको उनले बताए । ‘यसपटक आँप कम फलेको अवस्था थियो त्यही माथी अस्तिको हावाहुरीले धेरै क्षती पु¥यायो’ उनले भने ‘यसले पनि आँपको उत्पादनमा ठुलो असर गर्यो, त्यसो त बोट विरुवाहरुमा एक साल फल्ने र अर्को साल नफल्ने प्राकृतिक नियम पनि हुन्छ ।’

आँपको मुख्य केन्द्रको रुपमा मानिएको सप्तरी र सिराहमा आँप २५ प्रतिशत मात्र कृषि बजार भित्रीएको उनले बताए । ‘सप्तरी र सिरहा आँपको मुख्य केन्द्र मानिन्छ, सधै कृषिको पूरै बजार धान्थ्यो, यसपटक २५ प्रतिशत जती मात्र आयो’ बजार व्यावस्थापक भट्टराईले भने ‘यस पटक कृषिको इज्जत धनकुटाको मुलघाटले धान्यो, मुलघाट र आसपासको क्षेत्रबाट ७५ प्रतिशत आँप कृषिमा भित्रीयो ।’ कृषि उपज बजारको यस वर्ष ४ हजार मेट्रिटन कारोरबार गर्ने लक्ष्य रहेपनि त्यो नपुग्ने भट्टराईले बताए । उनले मालदहको सिजन अन्तिम भएपनि कलकते, अमरपालिका जातका आँप बजारमा आउन बाँकी छ । कृषि बजारमा सप्तरी, सिरहा र धनकुटाबाट आँप भित्रिन्छ ।