धरान: धरानलाई खेलकुदको हब बनाउने लक्ष्य लिएर प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउदा खेलग्राम बनाउने घोषणा गर्दै ५ करोड बजेटसमेत विनियोजन गर्यो । प्रदेश सरकारले बजेट विनियोजन गरेको खेलग्राम कहाँ बन्ने हो ? सर्वत्र चासोसँगै उत्साह पनि छ ।

कतिले खेलग्राम बनाउन धरानमा कहाँ छ पर्याप्त जग्गा भनेर प्रश्न पनि गरिरहेका छन् भने कतिले धरान १६ स्थित निर्माणाधिन रंगशालामा नै खेलग्राम बन्ने चर्चा पनि गरिररहेका छन् । तर, प्रदेश सरकारले हचुवाको भरमा नीति, कार्यक्रम तथा बजेटमा खेलग्रामलाई समेटेको भने होइन । धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकास समितिले तयार गरेको अवधारणा र प्रस्ताव वमोजिम नै प्रदेश सरकारले खेलग्रामलाई बजेटमा समेटेको हो । खेलग्रामको लागि कार्यपालिकाले जग्गा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ । ‘नगर कार्यपालिकाले पनि धरानमा खेलग्राम बनाउने निर्णय गरेर प्रदेश सरकारलाई प्रस्ताव गरिएको हो,’धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘धरानलाई खेलकुदको हब बनाउने यो महत्वपुर्ण योजना हो ।’

कार्यपालिका बैठकले खेलग्राम बनाउन धरान १७ स्थित एन्फा उत्तर र साकेला पार्क दक्षिणको उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउने पनि निर्णय गरिसकेको छ । त्यहाँ करिब साढे १२ बिगाह जग्गा छ । हेलिप्याडसहित एकै ठाउँमा खेलकुदको सम्पुर्ण संरचनाहरु बनाउने उपमहानगरपालिकाको योजना हो । यसले धरानलाई प्रदेश नं १ को खेलकुदको हब बनाउने अपेक्षा लिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताए । ‘हाम्रो प्रस्ताव अनुसार नै प्रदेश सरकारबाट धरानमा खेलग्राम बनाउन बजेटसमेत विनियोजना भएको छ, एकै ठाउँमा खेलकुदको संरचना हुदा धेरै राम्रो हुन्छ,’उनले भने ।

sports-village

अध्यक्ष राईका अनुसार प्रदेश सरकारको बजेटले खेलग्रामको डिपिआर तयार गरिनेछ भने जग्गाको घेराबारा र ड्रेनएज(पानीको निकास)लगायतका संरचनाहरु बनाइनेछ । डिपिआरले कति जग्गा आवश्यक पर्छ, र कुन स्थानमा के संरचना बनिन्छ भन्ने प्रष्ट हुने पनि उनले बताए । ‘खेलग्राममा के के बनाउने भन्ने हाम्रो अवधारणा छ, त्यो आधारमा टेकेर डिपिआर बन्छ,’उनले भने,‘डिपिआर चाडै बनाउछौं, यहाँ आवास सुविधासहितको खेलकुदको संरचनाहरु बन्नेछ ।’ खेलग्राम राष्ट्रियस्तरका खेलाडीहरुलाई आवाससहित राखेर बन्द प्रशिक्षण(क्लोज क्याम्प) दिलाउन प्र्रयोग हुन्छ भने प्रतियोगिताहरु पनि आयोजन गर्न उपयोगी हुन्छ । एकै ठाउँमा खेलकुदका संरचनाहरु निर्माण गर्न र हेरचाह गर्नलाई मात्र होइन, खेलाडीहरुलाई र प्रतियोगिता आयोजना गर्न पनि सहज हुन्छ ।

नेपालमा अहिलेसम्म खेलग्राम बनेको छैन । संघीय सरकारले पनि हरेक स्थानीय तहमा खेलग्राम बनाउने नीति तथा कार्यक्रममा समेटेपनि बजेट भने पर्याप्त दिएन । खेलकुदकर्मीहरुका अनुसार संघीय सरकारले ४० करोडको हाराहारीमा मात्र खेलग्रामको लागि बजेट विनियोजन गरेको छ । हरेक स्थानीयतहमा खेलग्राम बनाउनको लागि यो ज्यादै न्युन बजेट हो । प्रदेश १ सरकारले भने धरानमा मात्र खेलग्रामको लागि ५ करोड बजेट विनियोजन गरिदिएको छ ।

खेलग्राममा बन्ने संरचनाहरु

sports-city

खेलग्राममा सुविधा सम्पन्न रंगशालासहित विभिन्न विधाको खेलहरुको मैदान तथा संरचनाहरु निर्माण हुनेछ । खेलकुद समितिका अनुसार आउटडोर र इनडोर खेलहरुको अभ्यास र प्रतियोगिता आयोजना हुने गरी खेलग्राम तयार गरिनेछ । समितिको अवधारणाअनुसार खेलग्राममा भलिवल, फुटबल, बास्केटवल, गल्फ, कराते, तेक्वाण्डो, उसु, टेवलटेनिस, म्याराथुन ट्रयाक, एथलेटिक्स, स्विमिङ पुल, साइक्लिङ ट्रयाक, सेपाकताक्रो, आर्चरी, इन्डोर खेल विधाहरु लगायतको संरचनाहरु बन्नेछ ।

यस्तै, खेलग्रामभित्रै हेलीप्याडको सुविधा हुनेछ भने स्वास्थ्य चौकी, एकेडेमिक तथा प्रशासनिक भवन, एकेडेमिक होस्टल र स्पोर्टस् म्युजिअम पनि बन्नेछ भने अन्य साहसिक खेलकुदका संरचनाहरु पनि निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ । ‘उपमहानगरपालिकाको आफ्नै जग्गा पनि उपलब्ध छ, हावापानी र सडक सञ्जाल, विद्युतलगायत सबै सुविधाको हिसाबले पनि खेलग्राम बन्नको लागि धरान उचित ठाउँ हो,’खेलकुद विकास समितिका अध्यक्ष राईले भने,‘यो खेलग्रामले धरानलाई मात्र होइन, प्रदेश र समग्र राष्ट्रलाई नै ठुलो फाइदा पुग्छ ।’