सुनसरी: सर्पले डसेको बालकलाई समयमै उपचार गराउन अस्पताल नलगेर झारफुँक गराउन लैजादा इटहरीमा ती बालकले ज्यान गुमाएका छन् ।

इटहरी ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेवको ज्यान गएको हो । उनलाई विहान सबेरै ओछयानमा सुतिरहेकै बेला सर्पले डसेको थियो । अविभावकले केही समय पछि झारझुक गराउन लगे । झारझुक गर्ने ब्यक्तिले तुरुन्त अस्पताल लैजान सल्लाह दिए । त्यसपछि उपचार गराउन पूर्वी पृतना हेडक्वाटरस्थित सर्पदंश उपचार केन्द्र पुरयाउदा ढिलो भइसकेको थियो । उनको उपचारकै क्रममा ज्यान गयो ।

उनका वुवा टोलाई ऋषीदेवको घरायसी अवस्था अत्यन्तै नाजुक भएकाले अन्तिम संस्कार गराउन पनि समस्या भएको खवर पाएपछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम घरमै पुगेर आफूले र त्यही वडाका जनप्रतिनिधिवाट खर्चको ब्यवस्था गरिदिएको बताइन् । इटहरी उपमहानगरको तर्फवाट अन्तेष्ठिका लागि कोशी पुरयाउने सवारी साधनको ब्यवस्था गरिएको उपमेयर गौतमले जानकारी दिइन् । वाढीपछि सर्पको विगविगी बढेको छ । यस्तो बेला सचेत रहन र सर्पले डसिहाले तुरुन्त सर्पदंश उपचार केन्द्र लैजान उपमहानगरपालिकाले आग्रह गरेको छ ।